बैतडी समाचारदाता
बैतडी, असोज १६ गते । नेपाल राष्ट्र बैङ्कले एक सय दरभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार तथा कारोबारमा प्रतिबन्ध गरेको सूचना सार्वजनिक भएपछि स्थानीय समस्यामा परेका छन् ।
झुलाघाट नाकामा भने भारतीय रुपियाँ साट्ने सटही काउन्टर २३ वर्षदेखि बन्द छ । काउन्टर बन्द हुँदा नेपाली मुद्रा साट्न चर्को कमिसन दिनुपर्ने बाध्यता बनेको स्थानीय बताउँछन् ।
भारतमा मजदुरी गरेर स्वदेश फर्किनेलाई एक सय भारतीय रुपियाँ खोज्न पनि भारतीयलाई कमिसन दिनुपर्ने अवस्था आएको छ । रोजगारीका लागि भारत जाने नेपालीको न जीवन बिमा छ, न त बैङ्क खाता नै ।
मजदुरी गरेर घर फर्किंदा अधिकांश नेपालीसँग पाँच सय र दुई हजार भारतीय रुपियाँका नोट हुने गरेको मजदुरले बताएका छन् । घर फर्किंदा एक सय रुपियाँ भारतीय मुद्रा खोज्न कमिसन दिनुपर्ने अवस्था आएको झुलाघाटमा भेटिएका मजदुर महेश जागरीले गुनासो गर्नुभयो ।
राष्ट्र बैङ्कले भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरेको छ । महाकाली भन्सारसँगै रहेको झुलाघाट सटही काउन्टर द्वन्द्वका बेला २०५७ सालमा बन्द भएको थियो । शान्ति प्रक्रियापछि भन्सार कार्यालय स्थापना भए पनि काउन्टर स्थापना नहुँदा समस्या भोग्नु परेको स्थानीयवासी रघुवीर थापाले बताउनुभयो ।
व्यापार, व्यवसाय र उपचारका लागि नेपालबाट भारत जाँदा पाँच प्रतिशत कमिसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रहेको गुनासो उहाँको छ । आतपत्कालीन समयमा उपचारका लागि भारतको पिथौरागढ जाँदा नेपाली मुद्रा नचल्दा पाँच प्रतिशत कमिसन दिएर मुद्रा साट्नुपर्ने बाध्यता छ ।
राष्ट्रिय वाणिज्य बैङ्क बैतडीका मेनेजर दीपेन्द्र अवस्थी गोठालापानी शाखाको एटिएम सेवाबाट जुनसुकै बेला पनि १० हजार रुपियाँसम्म साट्न सकिने सेवा उपलब्ध गराएको बताउनुन्छ । एटिएमबाट १० हजार भारतीय रुपियाँ निकाल्दा करिब २५३ रुपियाँ सेवा शुल्क लाग्ने गरेको छ ।
झुलाघाट नाकाबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुने गरेको छ । सीमा नाकामा सटही काउन्टर नहुँदा नेपाली व्यवसायी र मजदुरले समस्या भोग्नु परेकोे गुनासो गरेका छन् । ज्याला मजदुरी गरेर स्वदेश फर्किने नेपालीले घर फर्किने बेलामा नाकामा घुस दिनुपर्ने त आमगुनासो नै छ ।