• १ चैत २०८२, आइतबार

विद्यार्थी स्मृति पार्कको शिलान्यास

blog

विद्यार्थी स्मृति पार्क शिलान्यास कार्यक्रममा इजरायली राजदूत श्मुलीक एरी बास । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, चैत १ गते । २०८० असोज २० (७ अक्टोबर २०२३) मा इजरायलमा मारिएका एघार नेपाली विद्यार्थीको स्मृतिमा टीकापुरमा पार्क बन्ने भएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चरबाट सिक्दै कमाउँदै कार्यक्रममा इजरायल गएका विद्यार्थीहरुमाथि हमासले गरेको आक्रमणबाट नेपाली विद्यार्थीहरु मारिएका थिए । हमासको आक्रमणमा परी ज्यान गुमाएका दश जना विद्यार्थीहरुको शव त्यति बेला र वेपत्ता विपिन जोशीको शव दुई वर्षपछि प्राप्त भएको थियो ।

विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डीन कार्यालय रहेको टीकापुरमा स्मृति पार्क बन्न लागेको हो । करीब २५ लाखको लागतमा बन्न लागेको पार्कको आइतबार इजरायली राजदूत श्मुलीक एरी बासले शिलान्यास गर्नुभएको छ । 

पार्क शिलान्यास कार्यक्रममा बोल्दै राजदूत बासले सिक्ने उद्देश्यले मात्रै इजरायल गएका नेपाल लगायतका अद्यय देशका विद्यार्थी मारिएकोमा क्षमा माग्नुभयो । उहाँले इजराइली र विदेशी गरी एकै पटक एक हजार २०० जनाको ज्यान गएको उक्त घटना इजरायलले बिर्सन नसक्ने बताउनुभयो । उहाँले मृतक विद्यार्थीका परिवारलाई आवश्यक परेको जुनसुकै बेला सिधा फोनमा कुरा गर्न अनुरोध गर्नुभयो ।

६८ दशमलव ५ मिटर लम्बाइ र ३३ मिटर चौडाइ रहेको स्मृति पार्कको ५० प्रतिशत केन्द्र पार्क र २५÷२५ प्रतिशत फूलहरु रहनेछन् भने त्यसको बीचमा स्मृति स्तम्भ र वरिपरी एघार जना स्वर्गीय विद्यार्थीहरुको प्रतिमा राखिनेछ । यो पार्क निर्माणका लागि केही इजरायली सरकार, केही विश्वविद्यालय र केही अन्य निकायको सहयोग रहने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायका डीन प्राध्यापक डाक्टर विष्णुविलाश अधिकारीले बताउनु भयो । 

क्याम्पस स्थलमा स्वर्गीय विद्यार्थीहरुको आत्मा शान्तिका लागि हिन्दू धर्मशास्त्र अनुसार एकाह पूजा पनि गरिएको छ ।