• २१ वैशाख २०८१, शुक्रबार

१९औं एसियाड : भारतसँग पहिलो टी-२० खेल्दै नेपाल

blog

समूह चरणको खेलमा माल्दिभ्सलाई हराएपछि नेपाली क्रिकेट टोली ।

हाङझाउ, असोज १५ गते । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । एसियाड अन्तर्गत क्वार्टरफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

क्वार्टरफाइनल खेलका लागि सोमबार गरिएको लक्की ड्र मा नेपालले बलियो भारत प्रतिद्वन्द्वी पाएको हो । नेपाल र भारतबीच मंगलबार बिहान प्रतिस्पर्धा हुनेछ ।

नेपालले एक महिना अघिमात्र एकदिवसीय एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । त्यतिवेला भारतसँग उत्कृष्ट ब्याटिङ गरेको नेपालको चर्चा विश्वभर चुलिएको थियो ।

एसियाड लगत्यै विश्वकप खेल्न लागेको भारतले यसपटक एसियाडमा दोस्रो रोजाईका खेलाडी चीन ल्याएको छ । त्यसैले भारतविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकेमा क्रिकेटमा पनि नेपालको पदक जित्ने सम्भावना रहनेछ ।

एसियाड क्रिकेटको समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराएको थियो । 

भारोत्तोलनमा कमजोर प्रदर्शन

एसियाड मन्तर्गत भारोत्तोलनमा नेपालले कमजोर प्रदर्शन जारी राखेको छ । समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १५८ केजी भार वहन गर्नुभयो ।


आफ्नो समूहमा सारदा पाँचौं स्थानमा रहनुभयो । स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल हुनुभएन । 

सारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । सारदाको क्लिन एन्ड जर्ककै दोश्रो र तेश्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भएन । यससँगै भारतोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ ।

यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो । पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ ।

 महिला भलिबलमा दक्षिण कोरियासँग पराजित

महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा एक घण्टा १२ मिनेट चेलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४, २५–११ ले हरायो ।

समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २५–४, २५–१६, २५–१३ को सीधा सेटमा हारेको थियो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ । एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो ।