गोरखापत्र अनलाइन
काठमाडौंं, असोज १५ गते । नेपाल औषधि व्यवसायी सङ्घले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको छ ।
सङ्घका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी सङ्घ जस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको हो । सङ्घका अध्यक्ष प्रकाशकुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘औषधि तथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’ मा नेपाल औषधि व्यवसायी सङ्घलाई सदस्य नराखिएकाले संशोधन माग गरिएको छ ।
‘औषधिजस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्षभन्दा बढी यही क्षेत्रमा योगदान गरेको महत्त्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधि व्यवसायी सङ्घलाई सम्बन्धित पक्षले कुनै जानकारी नदिएको ब्यहोरा समेत अवगत गराउँदछौ’ ज्ञापनपत्रमा भनिएको छ ।
संस्थागत प्रतिनिधित्व सुनिश्चित हुनेगरी सङ्घले संशोधन विवरण पेस गरेको छ । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले असोज १२ गते गैर सरकारी विधेयक दर्ता गराउनुभएको थियो ।
सभामुख घिमिरेले सङ्घको मागबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै आवश्यक छलफल गर्ने उल्लेख गर्नुभयो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले गैरसरकारी विधेयकका प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।
ज्ञापनपत्र बुझाउन उपाध्यक्ष रामचन्द्र शर्मा, महासचिव श्रीधर खनाल, कोषाध्यक्ष सम्राट्मान जोशी, बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष इन्द्रवीर महर्जन, भक्तपुर जिल्ला अध्यक्ष नारायणप्रसाद भुसाल, काठमाडौँ जिल्ला महासचिव शुभमान श्रेष्ठलगायतका पदाधिकारीको सहभागिता थियो ।