• २८ वैशाख २०८२, आइतबार

क्यान्सर हुन नदिन जीवनशैली परिवर्तन गर्न सुझाव

blog

भैरहवा समाचारदाता

भैरहवा, असोज १५ गते । क्यान्सर रोग विशेषज्ञहरूले क्यान्सर लाग्न नदिन जीवनशैलीमा परिवर्तन गर्न सुझाव दिएका छन् । क्यान्सर प्राणघातक रोग भएको र यसका बिरामी सजिलै ठिक नहुने भएकाले खानपान, सचेतना र आफ्ना आनीबानीमा विशेष ध्यान दिनुपर्नेमा उहाँहरूको जोड छ। 

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा लुम्बिनी प्रेस क्लबको सहकार्यमा पत्रकार तथा समुदायका अगुवालाई लक्षित गरी भैरहवामा आयोजित सचेतना कार्यक्रममा विज्ञहरूले संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता नलागे पनि उपचारपछि जीवनलाई सहज गर्दै लैजान भने सकिने जानकारी दिनुभयो। 

सचेतना कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले पछिल्लो समय नेपालमा मात्रै नभई विश्वभर नै क्यान्सर रोगको अवस्था भयावह हुँदै गएको बताउनुभयो। “क्यान्सर रोग बढ्नुको कारण हाम्रो जीवनशैली हो। वातावरण प्रदूषण, धुवाँधुलोले गर्दा पनि क्यान्सर हुने सम्भावना हुन्छ। यसबाहेक जति उमेर बढ्दै जान्छ, त्यति नै क्यान्सरको खतरा पनि उच्च हुँदै जान्छ,” उहाँले भन्नुभयो। 

सुर्तीजन्य पदार्थ र रक्सीको सेवन, पोलेको, सुकाएको र डढेको मासु खाँदा पनि क्यान्सर हुन सक्ने चेतावनी दिँदै डा. श्रेष्ठले प्लास्टिकमा राखिएका खाना धेरै खाने, व्यायाम कमलगायतका कारणले पनि क्यान्सर हुन सक्ने जानकारी दिनुभयो। 

उहाँले प्रत्येक वर्ष विश्वमा दुई करोड क्यान्सरका बिरामी थपिने र त्यसमध्ये झन्डै एक करोडको मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। नेपालमा पनि प्रत्येक वर्ष २०–२१ हजार मानिसलाई क्यान्सर हुने गरेको र यसमध्ये १३–१४ हजारको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो। 

नाक, कान, घाँटी, मुखसम्बन्धी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा. प्रभात ठाकुरले जुनसुकै उमेरका मानिसलाई नाक, कान, घाँटी, मुखको क्यान्सर हुन सक्ने बताउनुभयो । “यसमा पनि ४० वर्षमाथिकालाई क्यान्सरको जोखिम बढी हुने गर्छ। नेपालमा एक–डेढ लाख मानिस यसको क्यान्सरबाट पीडित भएको पाइन्छ। हामीले सामान्य कुरामा पनि सचेत नहुँदा समस्या निम्तिरहेको छ,” उहाँले भन्नुभयो।

डा. ठाकुरले धूमपान, मद्यपान र धुवाँधुलोबाट बच्ने, पिरो र पोलेको खानेकुरा बढी सेवन नगर्ने र नाक, कान र घाँटीमा घाउ भएमा तुरुन्त उपचार गर्नुपर्ने सुझाव दिनुभयो। 

स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अनु वज्राचार्यले नेपालमा क्यान्सर उपचारको अवस्था सकारात्मक ढङ्गले अगाडि बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “पहिलेको अवस्थामा हेर्ने हो भने क्यान्सरबारे सचेतना पनि बढेको छ। यो एकदमै अपुग छ। धेरैलाई क्यान्सर के हो भन्ने नै थाहा छैन। यसको उपचार सम्भव छ, यसबाट बच्ने सम्भावना पनि धेरै छ भन्ने सन्देश दिन जरुरी छ।”

नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराई र उपाध्यक्ष स्वरुपा श्रेष्ठले यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाज र व्यक्ति सुसूचित हुने र रोग नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।