• २९ वैशाख २०८२, सोमबार

आमाको निधनपछि लालाबालाको बिचल्ली

blog

दोर्दी गाउँपालिका–६, सिमी गाउँका लीलबहादुरका सन्तान । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २८ गते । चुहिने जस्ताले छाएको पुरानो ढल्केको घर छ । खरको चुहिने पालीमा त्रिपालको भरमा । सात छोरी र चार छोरासहित एघार सन्तानकी आमाको निधन भएपछि बिहान बेलुका छाक टार्नै मुस्किलमा छन् सहाराबिनाका बालबालिका । 

लमजुङको दोर्दी गाउँपालिका–६, सिमी गाउँको एक घरको अवस्था हो यो । यहाँकी ४७ वर्षिया शान्ति गुरुङको गत माघ १४ गते असमायिक निधन भयो । बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि चितवन लैजाने क्रममा उहाँको मृत्यु भएपछि एघार बालबालिकाको बिचल्ली भएको छ । 

बालबालिकाका अभिभावक लीलबहादुर घरमै हुनुहुन्छ । तर, उहाँको मात्र मिहिनेतले बालबालिकालाई दुई छाक खुवाउन, हुर्काउन र पढाउन समस्या भएको छ । जसका कारण बालबालिका विद्यालय जानबाट बञ्चित भएको मात्र छैनन्, कुपोषणको सिकार पनि बनेका छन् ।

एघार सन्तानमा जेठी छोरी ललिताको विवाह भइसक्यो । घरको अवस्था नाजुक भएपछि जेठो छोरा धनराज पढाइ छाडेर केही दिनअघि कामको खोजीमा भारत हिँडे । माइँला पूर्णबहादुर ८ कक्षा अनुर्त्तीण भएपछि चितवनतिर काममा झरे । घरमा रहेका दुई छोरा र ६ छोरी लीलबहादुरको भरमा छन् । 

“खेतबारी अरूको अधियाँमा गर्दैआएको छु । खेतबारीको उब्जाउले खान पुग्दैन । केटाकेटीलाई दुई छाक खुवाउन धौधौ छ” लीलबहादुरले भन्नुभयो, “बुढी खसेपछि हाम्रो बिचल्ली भयो । केटाकेटी पढाउनै समस्या भयो ।” साइँलो छोरा चीनबहादुर १० वर्षका भए । गाउँकै विद्यालयमा अहिले कक्षा २ मा पढ्छन् । 

कान्छो सन्तोष ८ वर्षका छन् । उनी कक्षा १ मा पढ्छन । माइली छोरी अस्मी पढाइ छोडेर घरमै छिन् । उनी भाइबैनीहरूलाई हेरेर बस्छिन् । कक्षा ६ मा पढ्दै गरेकी साइँली सोममायाले आमाको मृत्युपछि पढाइ छोडेकी छन् । साढे ११ वर्षिया काइँली माया कक्षा ५ मा पुगेकी छन् । अन्तरी अञ्जु ६ वर्षकी भइन् । नर्सरीमा पढ्छिन् । ४ वर्षिया सुप्रिया र साढे १ वर्षिया कान्छी स्कुल जाँदैनन् । 

“सन्तान धेरै भए । न घरबार राम्रो छ, न छोराछोरीलाई पढाउन सकेको छु ।” लीलबहादुर भन्नुभयो, “खान लाउन त समस्या छ नै, बर्खामा ओत कसरी लाउने झनै चिन्ता छ ।” लालाबाला हुर्काउन र पढाउन सहयोगको उहाँले अपेक्षा गर्नुभयो । “यो दुःखीलाई हेर्दिने कोही भए, केटाकेटीलाई हुर्काउन र पढाउन रहर छ” लीलबहादुर भन्नुहुन्छ, “दानीलाई हानी हुँदैन भन्छन, हामीलाई पनि हेर्दिने कोही भए त !”