नवीन सुवेदी
सुर्खेत,वैशाख २८ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आन्तरिक पर्यटन नै कर्णालीको आय आर्जन भएको बताउनुभएको छ। आइतबार वीरेन्द्रनगरमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको प्रवर्धन र कर्णालीको पर्यटन विकासलाई जोड्दै ‘घुमौ सौराहा, चितवन अभियान २०८२’ मा बोल्दै उहाँले भन्नुभयो, ‘सरकार मात्रले विकास सम्भव छैन, निजी क्षेत्रको सहकार्य अपरिहार्य छ। जनताको अपेक्षाअनुसार परिणाम दिनुपर्ने दबाब छ, त्यसका लागि संरचना निर्माणमा हामी प्रतिबद्ध छौँ।’
कँडेलले सौराहा र कर्णालीका पर्यटकीय स्थललाई जोड्न समेत आग्रह गर्नुभयो। कर्णालीमा अद्भूत प्राकृतिक सम्पदा रहेको उल्लेख गर्दे उहाँले यहाँका पर्यटकीयस्थल पर्यटकको पर्खाइमा रहेको बताउनुभयो। सौराहासम्म आउने पर्यटकलाई कर्णाली पुर्याउने गरी संस्थागत सम्बन्ध स्थापित गर्न पनि मुख्यमन्त्री कंडेलले प्रस्ताव गर्नुभयो। पर्यटन व्यवसायीलाई कर्णालीमा व्यवसाय विस्तार गर्न आग्रह गर्दे उहाँले कर्णालीमा आउने लगानीकर्तालाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीका पर्यटन व्यवसायी अभियानको साथमा रहेको प्रतिबद्धता बताउनुभयो। उहाँले कर्णालीको पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य गर्न पनि आग्रह गर्नुभयो।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले देशको आर्थिक विकासमा आन्तरिक पर्यटनले ठुलो टेवा पुर्याउने धारणा राख्नुभयो। उहाँले कर्णालीका पर्यटकीय सम्भावनाहरूको समुचित उपयोग जरुरी रहेको बताउनुभयो।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवन, सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले सौराहाको पर्यटन सम्भावना तथा चुनौतीबारे धारणा राख्नुभयो। उहाँले कर्णालीको पर्यटन विकासको लागि सडक पूर्वाधार प्रमुख चुनौती रहेका बताउनुभयो। पाण्डेले देशमा आउने १० प्रतिशत पर्यटक मात्र कर्णाली भित्र्याउन सकियो भने यहाँको पर्यटनले ठुलो फड्को मार्ने बताउनुभयो।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवन सौराहाका महासचिव महेश खनालका अनुसार सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मुख्य प्रवेशद्वार हो। जहाँ हात्ती चढेर गैंडा हेर्न सकिन्छ।