• २९ वैशाख २०८२, सोमबार

विधान र व्यवस्थालाई दोष दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे

blog

स्वदेशी तथा विदेशी गरी करिब १ सय ५० जनाको पत्रकार टोली भोली पर्वत, म्याग्दी, हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको छ । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, वैशाख २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुनै व्यक्ति र दलले गरेको गल्तीका कारण संविधान र व्यवस्थालाई दोष दिन नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको आयोजनामा सुरु भएको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को दोस्रो दिनको कार्यक्रमको पोखरामा आइतबार उद्घाटन गर्दै जसले गल्ती गर्छ, उसलाई सजाय दिनुपर्छ, खराब गरे मलाई पनि कारबाही गर्नुपर्छ, व्यवस्थालाई दोष दिन नपाइने उहाँले बताउनुभयाे ।

हातको औँलामा घाउ आयो भने उपचार गर्ने हो, हात नै काटेर फाल्नुपर्छ भन्ने सोच मुर्खतापूर्ण हुने उहाँको भनाइ थियो । नेपालको प्रजातन्त्रिक आन्दोलनमा नेपाली प्रेस जगतले खेलेको भूमिका स्मरण गर्नुहुँदै सबैको योगदानबाट आएको संविधान र व्यवस्थालाई नेपाली प्रेसले नै संस्थागत रुपमा अगाडि बढाउन उहाँले जोड दिनुभयो ।


मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रता आजको आवश्यकता भएको बताउनुहुँदै कतिपय छाडा मिडियाका कारण मुलधारका मिडियालाई समस्या परेकाले त्यस्ता मिडियाको नियमन गर्न भने जरुरी रहेको बताउनुभयो ।

आम नागरिकको हातमा प्रविधिको पहुँच बढ्दै जाँदा पछिल्लाे समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यामलाई एकै रुपमा बुझ्ने प्रवृति समेत बढीरहेको उहाँले बताउनुभयो । यस्ता सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा आएका विषय फरक हुन् भन्ने कुरालाई बुझाउन समेत मुल धारका मिडिया नै लाग्नु पर्ने उहाँको जोड थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनमा जोड दिइरहेको उल्लेख गर्नुहुँदै पोखरासहित हिमाल पारीको लोमन्थाङ समेतलाई समेट्दै गरेको यस अन्तराष्ट्रिय सम्मेलन सार्थक हुने विश्वास राख्नुभयो ।

पछिल्लाे समयमा प्रदेश सरकारका काम सम्बन्धमा प्रश्न चिन्ह उठाउने गरिएको उल्लेख गर्दै उहाँले संविधानतः दिइएका अधिकारको उपयोग र कार्यान्वयनका लागि पनि संघबाट अपेक्षित कानुनहरू नबन्दा समस्या हुने गरेको बताउनुभयो ।

कानुनको अभावमा गण्डकी प्रदेश सरकारले जग्गा प्राप्ति गर्न नसकेको बताउनुहुँदै कानुन बनाउनका निम्ति संघ र संघिय संसदसँग उहाँले आग्रह गर्नुभयो।

यसैगरी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय जलवायु परिवर्तनको असर पर्दै जाँदा मानव जीवनमा पनि उल्लेखनिय प्रभाव परेको बताउँदै यस अन्तराष्ट्रिय सम्मेलनले आम नागरिकमा यसको सन्देश प्रवाह हुने बताउनुभयो ।

अघिल्लो वर्ष संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले पोखरासहित अन्नपूर्ण आधारशिविरमा पुगेर गर्नुभएको जलवायु परिवर्तनको असरको प्रत्यक्ष अवलोकन र उहाँले संघीय संसदका साथै विभिन्न अन्तराष्ट्रिय फोरममा व्यक्त गर्नुभएको कुराले नेपाल र यहाँका हिमाली क्षेत्रमा परिरहेको प्रभावबारे अन्तराष्ट्रिय रुपमा ध्यानाकर्षण गराएको बताउनुभयो ।

पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा विश्व पर्यटन बजारमा यहाँको चिनारीसँगै त्यसका माध्यमबाट विभिन्न कामहरु अघि बढीसकेको उहाँले बताउनुभयो ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भैसकेको अवस्थामा यहाँबाट अन्तराष्ट्रिय उडानको पहल निरन्तर भैरहेको र यसैका प्रयासस्वरुव व्यवसायिक चाटर्ड उडानको थालनी भैसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा अन्तराष्ट्रिय पत्रकार महासंघका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सबै एकै ठाउँमा भएको बताउँदै प्रेस स्वतन्त्रता, जलवायु परिवर्तन लगायतका विषयमा मिडिया केन्द्रित हुनु सकरात्मक पक्ष रहेको बताउनुभयो । उहाँले गाजामा मारिएका १ सय ३० जना पत्रकारहरुको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गरेको बताउँदै यस सम्मेलनमा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौतीका साथै मिडिया क्षेत्रले भोग्नुपरेका समस्या आदिमा महत्वपूर्ण भएको बताउनुभयो ।

नेपाली पत्रकारितामा पत्रकारले भोग्नु परेका विभिन्न कठिनाइ अवसर र चुनौती विषयमा महत्वपूर्ण छलफल सहित निष्कर्ष तय गरिने उहाँको भनाइ छ ।

अध्यक्ष लम्सालको सभापतित्व एवम् महासचिव दीलिप पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, लोकराज अवस्थी लगायतले पत्रकारिताको बारेमा बोल्नुभएको थियो । 

सम्मेलन अन्तर्गत आज पोखरामा तीन वटा विषयगत प्रस्तुति तथा बहस भएका थिए । जसरमा जलवायु सङ्कट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र  ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा महत्वपूर्ण बहस र छलफल भएको थियो ।