• १० असार २०८२, मङ्गलबार

मौलापुर नगरपालिकाको बजेट ३९ करोड : शिक्षामा ४० प्रतिशत

blog

नवौं बजेट अधिवेशन उद्घाटन गर्नुहुँदै आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत अतिथि । तस्बिर : प्रवीण कुमार शर्मा ।

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), असार १० गते  ।  रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि मङ्गलबार कुल ३९ करोड ५० लाखको  बजेट ल्याएको छ । 

मौलापुर नगरपालिकाको नगर सभा एवम् नवौं बजेट अधिवेशनमा नगर प्रमुख रिनाकुमारी साहले आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गर्नुभयो । 

नगरपालिकाले शिक्षा क्षेत्रमा अत्याधिक बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको नगर प्रमुख साहले जानकारी दिनुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रममा शुन्य कर नीतिलाई निरन्तरता दिइएको, फ्रि बिजुली, फ्रि पानीलाई निरन्तरता, कच्ची सडक मुक्त नगर निर्माण लगायतका कार्यक्रम समावेश गरिएको छ । आगामी वर्षमा छोरीसँग मेयर कार्यक्रमलाई  निरन्तरता दिइएको छ ।  

यसैगरी, गौरवको आयोजनाको रूपमा  पुरातात्विक महादेव मन्दिर, मौलापुर सहरीकरण, एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्था गर्ने आयोजना तथा नीति कार्यक्रम बजेटमा समावेश गरिएको छ । 

नगर प्रमुख साहले वर्तमान समयको माग अनुसार नगर कार्यपालिकाको कार्यालय तथा मातहतका शाखा, वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ छिटो छरितो र व्यवस्थित गर्ने, स्वास्थ्य संस्थाहरूलाई थप व्यवस्थित गर्ने बताउनु भयो । 

उहाँले बेरोजगारलाई स्वरोजगार बनाउने, कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने र नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झुपडीमुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने बताउनुभयो।

नवौं बजेट अधिवेशनमा आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले  मुलुकको विकास र समृद्धिका लागि दलहरू लोकतान्त्रिक मार्गमा हिड्नुपर्ने बताउनुभयो ।