चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १४ गते । रोजगारीको सिलसिलामा भारतको सिक्किम गएर गाउँ नफर्किएका (घर बिर्सेका) ताप्लेजुङका एक वृद्धलाई आफन्तको जिम्मा लगाइएको छ ।
जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिबाङ घर भएका ७१ वर्षीय अमरबहादुर नैदम्बा लिम्बूलाई आफन्तको जिम्मा लगाइएको हो । २०४९ सालतिर सिक्किम पलायन भएका लिम्बूलाई सिक्किमबासी एक युवाको टोलीले ताप्लेजुङ ल्याएर शनिबार आफन्तको जिम्मा लगाएका हुन् ।
पश्चिम सिक्किम रिन्छेनपुङका फुर्वा छिरिङ भुटिया नेतृत्वको टोलीले वृद्ध लिम्बूलाई उहाँका आफन्तको जिम्मा लगाएको छ । रिन्छेनपुङ गाउँपञ्चायतका पूर्व सदस्यसमेत रहनुभएका भुटियाले रिन्छेनपुङकै एक लेप्चाका घरमा बस्दैआएका लिम्बूलाई बिरामी अवस्थामा भेटेपछि उपचारका लागि समन्वय गर्नुभएको थियो ।
लिम्बूलाई सोधखोज गर्दा आफ्नो घर ताप्लेजुङ लिबाङ भएको र घर फर्कने मनसाय व्यक्त गरेपछि उहाँलाई उद्धार गरी नेपाल ल्याइएको भुटियाले बताउनुभयो । सामान्य उपचारमा भएको खर्च र यातायात खर्चसमेत आफैँले व्यहोर्नुभएका भुटियाले लिम्बूलाई नेपाल ल्याएर आफन्तको जिम्मा लगाउन पाउँदा खुसी लागेको बताउनुभयो ।
हालसम्म अविवाहित रहनुभएका लिम्बू उमेरले ज्येष्ठ र अस्वस्थ समेत रहेको भेटेपछि चाँडै आफन्तको जिम्मा लगाउन पाए हुन्थ्यो भन्ने सोच अभिवृद्धि भएको र त्यसमा आफू सफल बनेको उहाँको भनाइ छ ।
शारीरिक रूपमा अस्वस्थ रहेका लिम्बूलाई ताप्लेजुङ ल्याएर पनि उहाँहरूकै सक्रियतामा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारार्थ अस्पताल भर्नापछि फुङ्लिङस्थित होटल माउन्टेनका सञ्चालक विमल भण्डारीको समन्वयमा आफन्तलाई झिकाएर जिम्मा लगाएको छ ।
मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीसमेतको उपस्थितिमा लिम्बूलाई आफन्तको जिम्मा लगाइएको छ । आफन्तको जिम्मापछि अहिले वृद्ध लिम्बूका सहोदर भतिजाले उहाँको उपचारमा सहयोग तथा स्याहार–सुसारको कार्य गर्न थाल्नुभएको छ ।
करिब ३१ वर्षसम्म गाउँघर नफर्किएका लिम्बूलाई अस्वस्थ अवस्थामा उद्धार गरी यहाँ ल्याएर आफन्तलाई जिम्मा लगाउनेलगायतको काम गरेकोमा फुर्वा छिरिङ भुटियाको टोलीलाई गाउँपालिका अध्यक्ष कार्कीले धन्यवाद दिनुभयो । उहाँले अब वृद्धको उपचारमा लाग्ने खर्च सबै गाउँपालिकाले बेहोर्ने प्रतिविद्धतासमेत जनाउनुभयो ।
तत्काल लिम्बूको नागरिकता बनाउने प्रक्रियामा आफैँले सहजीकरण गर्ने र ज्येष्ठ नागरिकले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता दिलाउने पनि अध्यक्ष कार्कीले बताउनुभयो । सिक्किमको रिन्छेनपुङ गाउँ पञ्चायतमा राजनीतिक क्षेत्रमा समेत क्रियाशील तथा सामाजिक व्यक्तित्वका रूपमा स्थापित भुटियाको नेतृत्वमा १० जनाको टोलीले वृद्ध लिम्बूलाई ल्याएर आफन्तको जिम्मा लगाएको हो ।