• ७ पुस २०८१, आइतबार

पृथक् पहिचानका थामी

blog

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा १४२ जातजातिको बसोबास छ। विभिन्न जातिमध्ये थामी पनि नेपालमा रहेको एक जाति हो । जसलाई सरकारले आदिवासी जनजातिमा सूचीकृत गरेको छ । कतिपय लेखकले थामीलाई किराँत जाति परिवारभित्रको एक उपजाति भनेका छन् तर थामीले भने आफूलाई स्वतन्त्र जातिका रूपमा बुझ्दछन् र आफ्नो छुट्टै पहिचानमा गर्व गर्छन् । 

थामीहरू आफूलाई किराँती वा सुनुवार होइन ‘थाङ्मी’ भन्न रुचाउँछन्। दोलखा, सिन्धुपाल्चोक, रामेछाप, इलाम जिल्लाका केही क्षेत्रमा बाक्लो बसोबास रहेका थामी नेपालको ७३ जिल्लामै छ तर क्षेत्रगत आधारमा भने उनीहरूको सामाजिक जीवन, सांस्कृतिक रहनसहन तथा पर्व, परम्परामा भिन्नता पाइन्छ । 

थामीको आफ्नै भाषा छ। जसलाई थाङ्मी खाम भाषा भनिन्छ। यो भाषाका कतिपय शब्द तथा लवज तिब्बती भाषासँग मिल्ने भएकाले पनि थामीलाई तिब्बती पनि भन्ने गरिएको छ । थामी तिब्बती होइनन् र यिनीहरूको भाषा तिब्बती पनि होइन । थामीले बोल्ने थाङ्मी खाम भाषा भोट बर्मेली भाषा परिवारभित्र पर्ने भाषाशास्त्रीहरूले बताएका छन् । केही लेखकले थामीलाई बोलीचालीका केही शब्द मिलेकै आधारमा सुनुवार जातिको एक थर भनेका छन् । सुनुवार राई जातीय परिवारभित्र पर्दछ जब कि थामी राई होइनन् । 

नेपालका प्रख्यात मानवशास्त्री जनकलाल शर्माले भाषा तथा केही सांस्कृतिक विशेषताका आधारमा थामीलाई सुनुवार जातिभित्रको उपजातिका रूपमा राखेको भए पनि लेखक जर्ज ग्रियर्सनद्वारा थामीलाई सुनुवारभन्दा छुट्टै जाति भनी उल्लेख गरिएको लेखक राजन थामीले उल्लेख गरेका छन् । 

थामीको बोली सुनुवारसित नभई धिमाल, याखा र लिम्बूसित केही मात्रामा मिल्दछ। लेखिका सुमित्रा थामीले यापती छुकु अनि सुनारी आजीका सन्तानलाई थामी अथवा थाङ्मी भनिने उल्लेख गरेकी छन् ।  लेखक कुम्भलाल थामीले ‘थामी जातिको उत्पत्ति र विवरण’ पुस्तकमा थानबाट ‘थामी’ भएको तर्क गरेका छन् । उनले थामीलाई किराँती हुन् भन्दै किराँतीले मन्दिरलाई थान र पुजारीलाई थानमी भन्दै जाँदा थामी भएको उल्लेख गरेको देखिन्छ ।   

थामीले प्राकृतिक धर्म मान्दछन्। कतिपयले थामीले वोन या किराँत धर्म मान्दछन् पनि भनेका छन्। भूमि, (अन्न) खेतीपाती, पानी, रुख, प्राणीको पूजा गर्ने भएकाले थामी र किराँत धर्म समान छ भनिए पनि यस्ता पूजा तथा कर्म–पर्वका तरिका भिन्न भिन्न रहेकाले राई र थामी एउटै जाति, जातिको उपजाति वा थर होइन भन्ने स्पष्ट हुन्छ ।

यिनीहरूको कुलदेवता नै भूमि हो। जसलाई ‘भूम्या/भूमे’ भनेर पूजा गरिन्छ। मङ्सिरको उभौली र जेठको उधौलीमा भूमे पूजा गरिन्छ । अन्न र भूमिको पूजा नगरी नयाँ अन्न खान हुँदैन भन्ने विश्वास छ । सिंहलाई देवताका रूपमा पूजा गरिन्छ । सिंह/बाघ रिसाए पशु खाइदिन्छ भनेर भँगेर (बाघको) पूजा गर्ने चलन छ । वर्षमा एक पटक कुल बाह्रा देवा भनी घरको पूजा गरिन्छ । यस्तै गोठ तथा पशुको पनि पूजा गरिन्छ । थामी समाजमा नारी प्रधानता पाइन्छ । पारिवारिक निर्णय प्रक्रियामा महिलाको भूमिका प्रभावपूर्ण रहन्छ । 

जन्मदेखि मृत्यु र त्यसपछिका कर्मकाण्ड आफ्नै गुरु वा झाँक्री (गुरुआपा) द्वारा सम्पन्न गरिन्छ। थामीमा मागी, चोरी र छोराछोरी जन्मेपछि गर्ने (भागी/बुढ्यौली) जस्ता तीन प्रकारका विवाह प्रचलित छन् । प्रेम विवाह गरी भागेका जोडीलाई माइती पक्षले टीका नदिएसम्म विवाहको आधिकारिकता रहँदैनथ्यो । अहिले यस्तो चलन कम हुँदै गएको पाइन्छ । कतिपय अवस्थामा यस्ता बाबुआमाको विवाह नहुँदै थामीका बच्चाबच्ची जन्मन्छन् । बाबुआमाको विवाह नहुँदै थामीका सन्तान जन्मन्छन् भनियो भने अनौठो लाग्न सक्छ तर प्रेम विवाह (भागी) गरिएको अवस्थामा छोराछोरीको विवाह हुनुभन्दा एक दिनअघि माइती तथा घर पक्षको सहमतिमा पहिला आमा र बाबुको विवाह गरिन्छ । अर्थात् भागी विवाहलाई औपचारिकाता दिइन्छ । अनि मात्र छोराछोरीको विवाह गरिन्छ । यस्ता बाबुको औपचारिक विवाह नभई मृत्यु भएमा किरिया फुकाउँदा (घेवा गर्दा) बाजागाजा बजाएर सकेसम्म पञ्चैबाजा प्रयोग गरी विवाहको विधि पूरा गर्नु पर्छ । साथै त्यही अवसरमा जुठो फुकाएर छोराछोरीको विवाह गरिन्छ । यस्तो परम्परा विघटित हुँदै छ । अन्य जातिमा यस प्रकारको विवाह प्रचलित रहेको पाइँदैन भनी थामी जातिको सामाजिक–सांस्कृतिक तथा शैक्षिक अवस्थाबारे शोधपत्रमा राजन थामीले उल्लेख गरेका छन्। 

थामीको मुख्य पेसा कृषि तथा पशुपालन नै हो तर व्यापार, सरकारी नोकरी, गैरसरकारी संस्था, समाजसेवा जस्ता क्षेत्रमा पनि  थामी युवा पुस्ताको संलग्नता बढ्दै छ । परम्परागत रूपमा काठसम्बन्धी काम सिकर्मी, फर्निचर, काठका भाँडाकुँडा मदानी, ठेकी, आरी बनाउने थामीहरू डकर्मीका अतिरिक्त जाँतो, ओखल, सिलौटो बनाउने काममा पनि संलग्न भएको पाइन्छ । 

बेतबाँसको काम गर्ने भकारी, नाङ्ला (सुप्पो), फुर्लुङ, खुङ्गा बनाउनेलगायत चोयाबाताका काममा पनि थामीको सिप देखिन्छ । थामी जातिको जातीय पहिरन भाङ्ग्राको लुगा हो । जुन सिस्नोको बोक्रा (अल्लो) बाट बुनिन्छ । पहिरन पनि केही मौलिक र केही आधुनिक छन् । पुराना पुस्ताका पुरुषले भोटो, कछाड, टोपी, लगाउँथे भने महिलाले लुङ्गी (गुन्यू), मुगाको माला, जन्तर चुरापोते लगाउँछन् । पुरुषको पोसाकलाई भाङ्ग्रा र महिलाका पोसाकलाई फ्याङ्ग्रा (डाम्ठी) भनिन्छ। पुरुषको शिरमा लगाइने फेटालाई पगरी भनिन्छ। महिलाले बर्की (मज्यात्रो), पैसाको माला (लाङी पुवाँलो) बाला (ठोका) औँठी (साइमुन्द्रो) झुम्का (लुर्का) लगाउँछन्।  

गुरुआपाले मन्त्रद्वारा सुत्केरी चोख्याउने चलन छ। छोरालाई सात र छोरीलाई पाँच दिनमा न्वारान गरिन्छ। महिनाको अन्तिम दिन जन्मेका सन्तानको जन्मेकै दिन पनि न्वारन गरिन्छ । न्वारानको दिन शिशुको मावलीको उपस्थिति अनिवार्य हुन्छ ।

आमाको दुध मात्र खाने नाबालकको मृत्यु भएमा ओडारको प्वालमा खसालिन्छ। त्यस्ता शिशुको अन्त्येष्टि पनि गरिँदैन। एकदेखि आठ वर्षका बालबालिकालाई गाडिन्छ र अन्त्येष्टि पनि गरिन्छ । नौ वर्षमाथिका मृतक सबैलाई जलाइन्छ । क्षयरोगी, झाँक्री गुरुआपाजस्ता मानिसको मृत्यु भएको छ भने उनीहरूको शव जलाइँदैन । थामीका बाजामध्ये मेर्केङ, पिचालिङ, टाके, थात्रा, ठेङ्का, बाखारा टाके, डम्फू, मुरली, मुर्चुङ्गा, बिनायो आदि मुख्य बाजा हुन् ।   

–त्रिभुवनचन्द्र वाग्ले