• १९ असार २०८१, बुधबार

वास्तविक समयमा बिजुली बेच्न अनुमति

blog

काठमाडौँ, असोज १४ गते । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो । 

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यस अन्तर्गत उत्पादन अनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ ।  यी आयोजना यसअघि ‘डे अहेड मार्केट’ का लागि सूचीकृत थिए। यस्तो अनुमति शनिबार सकिँदै थियो। अघिल्लो दिनको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् अघिल्लो दिन र वास्तविक बजार समय दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताउनुभयो। भारतको विद्युत् मन्त्रालयले १५ साउनमा विद्युत् आयात/निर्यात (अन्तर्देशीय) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत् छिमेकी देशका अनुमति प्राप्त निकायलाई वास्तविक बजार समयमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । 

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले एक दिनअघिको बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि– एनभिभिएनलाई बेचिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । 

प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको जनाएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत् भारत निर्यात गरेको छ ।