• ११ असोज २०८१, शुक्रबार

जीर्ण बन्दै कारागार भवन

blog

जीर्ण बन्दैगएको कारागार बाजुरा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असोज १३ गते । विस. २०३७ साल असारमा निर्माण गरिएको बाजुराको कारागार अहिले जीर्ण बन्दैगएको छ । पुरानो डिजाइनमा निर्माण गरिएको सो कारागार बाजुराको लामो समयसम्म मर्मत सम्भार नभएपछि जीर्ण बन्दैगएको हो ।

विस. २०३७ असारमा बनेको सो कारागार बाजुरा जीर्ण बन्दै गए पनि मर्मत सम्भारको काम भने कतैबाट नभएको कारागार बाजुराले जनाएको छ । कारागार बाजुराका चौकीदार रुपेस रावलले भन्नुभयो, “कारागार निर्माण गरिएको लामो समय हुँदा पनि कतैबाट मर्मत सम्भार नभएपछि कैदीबन्दीलाई बास बस्न र सुत्न निकै समस्या भएको छ ।”

२५ जनालाई मात्र राख्नेगरी बनाएको कारागार बाजुरामा अहिले ३७ कैदी १८ जना थुनुवा गरी ५५ जना बस्दैआएको बताउनुभयो । क्षमता भन्दाबढी कैदी र थुनुवा यसभित्र हुलेपछि अहिले उनीहरुलाई सुत्न बस्नलाई समस्या भएको चौकिदार रावलले बताउनुभयो ।

कारागारको अवस्था निकै नाजुक छ, यसको मर्मत सम्भारका लागि धेरै ठाउँमा कुरा राख्दैआएका हौ । तर कतैबाट मर्मतको काम नभएको कारागार बाजुराका जेलर हङ्शबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस कारागार बाजुराको पर्खालसँगै सडक खनेको छ, त्यसबाट अवैध सामान भित्र फाल्न सकिने निकै सम्भावना छ । धेरै पटक बाहिरबाट अवैध सामग्री फाल्ने प्रयास गरिएको छ ।”

कारागार कार्यालय बाजुराको सुरक्षाका लागि अहिले दैनिक १७ जना नेपाली सेना र ४ जना नेपाल प्रहरी जवान बस्नेगरेको कारागार बाजुराका जेलर बोहराले बताउनुभयो । तर प्रहरी बस्ने घर पनि जिर्ण छ ।