• ११ मंसिर २०८१, मङ्गलबार

सरकारी वकिलहरूको सम्मेलन सम्पन्न

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

करुन अर्याल

लण्डन, असोज १३ गते । सरकारी वकिलहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ प्रोजिक्युटरको २८ औँ सम्मेलन लण्डनमा सम्पन्न भएको छ ।

सम्मेलनमा सरकारी वकिलहरूको सुरक्षा र चुनौतीका विषय र २१ औँ शताब्दीमा अपराधको बदलिँदो प्रवृत्ति, चुनौती र समाधानका उपायका विषयमा छलफल भएको सम्मेलनमा सहभागी सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो ।

नेपालको तर्फबाट महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल र दाहाल सम्मेलनमा सहभागी हुनुहुन्थ्यो । सम्मेलनमा सम्पत्ति शुद्धीकरण, साइबर क्राइम, घरेलु हिंसा, प्रविधिको प्रयोगबाट मानव बेचबिखन, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीजस्ता विश्वव्यापी सरोकारका विषयमा छलफल भएको महान्यायाधिवक्ता डा. पोखरेलले गोरखापत्रलाई जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता डा. पोखरेलले विश्वव्यापी रूपमा अपराध र प्रविधिको दुरुपयोग एउटा मात्र सीमित नरहेको वर्तमान अवस्थामा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो । उहाँले सम्मेलनमा छलफल भएका विषयले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि कानुन बनाउन तथा जनशक्ति परिचालन गराउन हरेक देशलाई सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका क्रममा महान्यायाधिवक्ता डा. पोखरेल र दक्षिण कोरिया, चीनका महान्यायाधिवक्ता कार्यालयका पदाधिकारी र बेलायतको क्राउन प्रोजिक्यूसन सर्भिस यूकेका प्रतिनिधिबिच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

इन्टरनेशनल एसोसिएसन अफ प्रोजिक्युटर र क्राउन प्रोजिक्यूसन सर्भिस यूकेको आयोजनामा भएको सम्मेलनमा ८९ देशका ४२८ जना महान्यायाधिवक्ता र मुख्य अभियोजनकर्ताको सहभागिता थियो । अर्को सम्मेलन अजरबैजानको बाकुमा आयोजना हुनेभएको छ ।