• २१ वैशाख २०८१, शुक्रबार

१९औँ एसियाड : महिला भलिबलमा नेपाल फितलो

blog

नेपाली महिला भलिबल टोली । तस्बिर : गोरखापत्र

हाङझाव, असोज १३ गते । १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपालले फितलो प्रदर्शन गरेको छ ।

देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा नेपाल भियतनामसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालमाथि हाबी बनेको भियतनामले २५–४, २५–१६, २५–१३ को नतिजा निकालेको थियो ।

भियतनाम भर्खरमात्र एसियन च्याम्पियनसिपमा तेस्रो भएन एसियाड खेल्न चिन आएको हो । नेपालले अब समूह सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो । एसियाडको महिला भलिबलमा डेब्यु गरेको नेपालका लागि कोरियासँगको खेल झनै चुनौती पूर्ण हुने देखिएको छ ।

भियतनामसँगको खेलपछि नेपालका बेल्जियन प्रशिक्षक एनडी ब्रान्ट बलियो टोली भियतनामसँग खेल्न नेपालको स्तर नपुगेको बताउनुभयो । 

‘‘पहिलो खेलमा हाम्रा खेलाडी धेरै नर्मस भए । दोस्रो खेलमा हामीले १६ बनाउन सक्नु राम्रो हो । खेलाडीले बिस्तारै लय समाउँदैछन् । हामी एसियामा धेरै तल छौँ । प्राविधिक रूपमा अन्य टोली माथि छन् । तरपनि आजको खेलबाट सन्तुष्ट छौँ । कोरियासँग सुधारिएको खेल खेल्नेछौँ,’’  ब्रान्टले भन्नुभयो । 

यस्तै नेपालकी कप्तान अरुणा शाहीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताउनुभयो । ‘‘पहिलो सेटमा खासै खेल्न सकेनौँ । दोस्रो र तेस्रो खेलमा ठिकै खेलेको हो । यस खेलले आगामी खेलमा खेल्न सहज हुनेछ,’’ शाहीले भन्नुभयो । 

नेपाली महिला भलिबल टोलीले खेलेको यो अहिलेसम्मकै सबैभन्दा ठुलो प्रतियोगिता हो । यसअघि नेपालले सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको थियो ।

त्यसअघि नेपाल एभिसी सेन्ट्रल जोन महिला भलिबलमा दुई पटक च्याम्पियन बनेको थियो । एसियाडमा नेपालको पुरुष भलिबल टोली यसअघिनै समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ । 

भारोत्तोलनमा टीकामाया बाहिर 

हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिनुभएको छ ।

एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गर्नुभयो । स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल हुनुभयो । 

क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाउनुभयो । क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गर्नुभएको थियो । टीका ९० केजी तौल उठाउन असफल रहनुभयो । 

ट्रायथलनमा श्रेबी १७औँ 

एसियाड ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औँ भएकी छन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएइ, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् ।

श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गर्नुभयो । 

ट्रायथलनमा नेपालबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी सहभागी छन् । यस स्पर्धामा जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जित्नुभयो । 

ह्यान्डबलमा नेपालको चुनौती समाप्त

१९औँ एसियाडमा महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेस्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित ग¥यो ।

नेपालका लागि कप्तान वन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान दुई दुई तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान दुई दुई गोल गर्नुभयो । यस्तै नेपाल अर्को खेलमा हङकङसँग २७–१८ले पराजित भयो । 

समूह चरणको पहिलो खेलमा नेपाल चीनसँग ५७–१० तथा जापानसँग ६२–१० ले हारेको थियो ।