• २२ मंसिर २०८०, शुक्रबार

गाउँमा सोलार प्लान्टमार्फत विद्युत सेवा प्रदान गरिँदै

blog

सोलार प्लान्टको शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष विश्वास कार्की ।

सुजन काफ्ले

चरीकोट, असोज १३ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को भौगोलिक बिकट ‘ना गाउँमा’ सोलार प्लान्टमार्फत विद्युत सेवा प्रदान गरिने भएको छ ।  

दोलखाको अति दुर्गम गाउँको रूपमा चिनिने सो उपत्यकामा  वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले यसै वर्ष विद्युत सेवा दिने भएको हो । सो गाउँ ४२ सय मिटरको उचाइमा अवस्थित छ । जिल्लाका हरेक घरमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेता पनि यो गाउँमा बाँकी छ ।

ना गाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी भइरहेको छ । गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले सो गाउँ पुगेर सोलार प्लान्टको शिलान्यास गर्नुभयो । विद्युत र टेलिफोन सेवा पुगाउन चुनौतीको रूपमा रहेको सो गाउँमा प्राधिकरणको विद्युत ल्याउन टाढा भएपछि सोलार प्लान्टबाट विद्युतीकरण गर्न लागेको अध्यक्ष कार्कीले बताउनुभयो ।

ना गाउँ गौरीशङ्कर गाउँपालिका–९ को रोल्वालिङ उपत्यकामा पर्छ । यहाँ करिब ४० घरपरिवार बसोबास गर्दैआएको गाउँपालिकाले जनाएको छ । विश्वको सबैभन्दा ठुलो च्छोरोल्पा हिमताल नजिकैको गाउँ ‘ना’ हो । यहाँ बढी हिउँ पर्ने हुँदा मङ्सिरदेखि चैतसम्म यहाँका स्थानीय बेदिङमा बसोबास गर्छन् ।

पर्यटकीय क्षेत्र भएकाले यहाँका बासिन्दा ‘होमस्टे र होटेल’ चलाएर जीविकोपार्जन गर्छन् । सिजनमा पुरुषहरू हिमालमा ट्रेकिङ जान्छन् । ना र बेदिङलाई सगरमाथा आरोहीको गाउँको रूपमा चिनिन्छ । पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले थप पूर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने कार्कीले बताउनुभयो । 

३० किलोवाट क्षमताको सौर्य मिनिग्रिड परियोजनाको शिलान्यास भएसँगै लामो समयदेखि अन्धकारमा रहेको ना गाउँमा विद्युत सेवा विस्तार हुने भएपछि स्थानीयहरू खुसी भएका छन् ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत अर्थात् ३ करोड १४ लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशङ्कर गाउँपालिकाको ९ लाख ९८ हजारगरी कूल ३ करोड ४८ लाख रुपियाँ लगानी रहेको छ ।

आयोजना ६ महिनामा सक्नेगरी सनब्रिज सनस्टार जेभीले निर्माणको जिम्मा पाएको थियो । आयोजना निर्माण कम्पनीका सञ्चालक कुमार बस्नेतले समयमा नै निर्माण सम्पन्न गरेर ना गाउँमा विद्युत सेवा प्रदान गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पावर हाउस बनाउन सुरु गरिसकेको र सामान ढुवानीको काम भइरहेको छ । सम्झौता बमोजिमको समयमा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । विद्युत सेवा पुगेसँगै सो भेगका स्थानीय लाभान्वित हुनेछन् ।”