विष्णुप्रसाद पोखरेल
दमक, असोज १३ गते । झापाको दमक नगरपालिकाले पाठेघरको मुखको क्यान्सर तथा स्तन परीक्षण पूर्णरुपमा निःशुल्क गर्ने कार्यलाई पुनः सुचारु गर्ने भएको छ । विराट टिचिङ अस्पताल, विराटनगरबाट आउनु भएकी विशेषज्ञ डा.अस्मिता रायमाझीसहितको स्वास्थ्यकर्मीहरूसँग यस विषयमा छलफल भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो ।
पाठेघरको मुख र स्तन क्यान्सर समस्या यहाँका महिलाहरूमा बढी मात्रामा देखिने गरेकाले सरकारी दमक अस्पतालसँगको समन्वयमा यसको जाँच सेवा सुचारु गर्न लागिएको जानकारी उहाँले दिनुभयो । जाँचको सुविधा हप्तामा एक दिन र विशेषज्ञ सेवा महिनामा एक दिन गर्ने गरी निर्णय गरेको भट्टराईले बताउनुभयो ।
जाँचको क्रममा क्यान्सर देखिएमा त्यस्ता बिरामीलाई सहज तवरले सर्वसुलभ ढङ्गबाट उपचार गराउन आवश्यक सहजीकरण दमक नगरपालिका स्वास्थ्य शाखाले गर्ने पनि जानकारी गराइएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार प्रत्येक वार्डमा स्वास्थ्य शिविरको आयोजना गरेर स्तन र पाठेघरको क्यान्सको खोज पडताल गर्ने कार्य पनि भइरहेको छ ।