गजेन्द्र गुरुङ
खजुरा, असोज १३ गते । अस्पतालमा बिरामीहरूको चाप बढ्न थालेपछि सेवालाई थप वृद्धि गर्नका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले सिकलसेलको छुट्टै युनिट बनाएर सेवा सञ्चालनमा ल्याउने भएको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टै युनिट बनाउने बताउनुभयो । अध्यक्ष शाहले यसका लागि सङ्घीय सरकारको बजेट आइसकेको र प्रदेशबाट समेत यो काममा सहयोग हुने बचन दिएको हुँदा छिट्टै सञ्चालनमा ल्याउनका लागि गृहकार्य भइसकेको बताउनुभयो ।
पछिल्लो समय सिकलसेल र थालसेमिया बिरामीको सङ्ख्यामा वृद्धि भएको हुँदा पुरानो भवनका कोठाहरू साँघुरो भएको र कर्मचारीहरू समेतको अभावका कारण सञ्चालन गर्न केही असहज भएको भएता पनि नयाँ भवनमा सर्ने र कर्मचारी परिपूर्ति गरेर सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचार छुट्टै युनिट बनाएर सञ्चालन गर्ने तयारीमा रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । छुट्टै युनिटका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
भेरी अस्पतालमा दैनिक एक हजार बढी सिकलसेलका बिरामीको उपचार गर्नुपरेको हुँदा युनिट आवश्यक पर्ने भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले बताउनुभयो । डा. पाण्डेले भन्नुभयो, “भेरीमा एक हजार अट्ठाइस जना सिकलसेल र एक सय जना थालसेमियाका बिरामीहरूको नियमित उपचार हुने गर्छ, दैनिक जसो रगत परिवर्तन गरी राख्नु पर्दछ अतः अलग युनिटको आवश्यकता रहेको छ, यस विषयमा हामीलाई मेसुबाट आश्वासन पनि पाएका छौँ ।”
सिकलसेल तथा थालसेमियाका विशेषज्ञ समेत रहनुभएका डा. पाण्डेले छुट्टै युनिट सञ्चालनका लागि डे केयरको समेत आवश्यकता पर्ने बताउँदै छुट्टै युनिटमा १२ नर्सिङ, दुई मेडिकल अफिसर, एक सफाईकर्मी तथा चार जना हेल्पर कर्मचारी आवश्यक पर्ने उहाँले बताउनुभयो ।
भेरी अस्पतालमा पश्चिम क्षेत्रकै मुख्य तथा प्रसिद्ध अस्पतालको रूपमा रहेको हुँदा यहाँ विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गर्दछन् । सिकलसेल र थालसेमियाका बिरामीलाई सरकारले एक लाखसम्मको उपचार सुविधा दिने भएको हुँदा पनि भेरीमा बिरामीको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । अब सिकलसेलका लागि छुट्टै युनिट भएपछि यो रोगका बिरामीहरूले सहज रूपमा उपचार पाउन सक्नेछन् ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                