काठमाडौँ, असोज १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न आयोजनाका लागि समयमै बजेट विनियोजन गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क (एडिबी) र विश्व बैङ्कले सहयोग गरेका परियोजनाको प्रगति मूल्याङ्कन तथा प्रमुख मुद्दाहरू सम्बोधन गर्न बसेको संयुक्त त्रिपक्षीय समीक्षा बैठकमा उहाँले विकास परियोजनालाई सही दिशामा अघि बढाउन समन्वय आवश्यक रहेको बताउनुभयो ।
त्रिपक्षीय बैठकले परियोजनामा आवश्यक सुधारका लागि आवश्यक सामूहिक मुद्दाको पहिचान गर्न सहयोग पु¥याउने उहाँको भनाइ थियो । विकास परियोजनालाई सही हिसाबले अघि बढाउँदै गरिबी न्यूनीकरण र दिगो विकासमा योगदान बढाउने सुनिश्चितताका लागि पनि यस किसिमको बैठक महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
बैठकमा एडिबीका लागि नेपाल प्रमुख अर्नो हेकम्यानले विकास आयोजनाको सकारात्मक प्रभावलाई अधिकतम बनाउन, प्रभावकारी स्रोतको उपयोग सुनिश्चित गर्न समयमै परियोजना कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । सम्भावित ढिलाइलाई कम गर्न र हाम्रा परियोजना सही अवस्थामा रहेको सुनिश्चित गर्न कार्यान्वयन गर्ने एजेन्सीसँग सहकार्य जारी राख्ने उहाँले जानकारी दिनुभयो । पोर्टफोलियो सफलता सुनिश्चित गर्न सक्रिय रूपमा समस्या सम्बोधनका लागि अर्थ मन्त्रालयको नेतृत्वको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।
नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसले परियोजना कार्यान्वयनलाई तीव्रता दिन र बाह्य र स्वदेशी वित्तीय परियोजना समयमा सम्पन्न गर्ने सुनिश्चितताका लागि सरकारको प्रयास महìवपूर्ण रहेको बताउनुभयो । नेपाली जनता र त्यसमा पनि विशेष गरी सीमान्तकृत र जोखिममा परेका जनताको भलाइका लागि परियोजनाको कार्यसम्पादन अभिवृद्धि गर्न र परिणामलाई प्राथमिकता दिन प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो । बैठकमा हालसम्म विभिन्न परियोजनामा भएको प्रगति सार्वजनिक गरिएको थियो । त्यस्तै परियोजना कार्यान्वयनका अवरोध तथा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो । त्यस्तै अर्थ मन्त्रालयसहित परियोजना कार्यान्वयन गर्ने निकायहरू, एडिबी र विश्व बैङ्कले परियोजनामा रहेका चुनौती पार गर्न र परियोजना कार्यान्वयन र वितरणलाई गति दिन विशेष कार्य गर्न सहमतभएका छन् ।