• २८ वैशाख २०८१, शुक्रबार

राष्ट्र बैङ्कद्वारा तेह्र अर्बको ऋणपत्र

blog

काठमाडौँ, असोज १३ गते । सरकारलाई आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १३ अर्ब १० करोड रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले विकास ऋणपत्र २०८८ ‘ग’ नामबाट जारी गर्न लागेको आठ वर्ष अवधिको यो ऋणपत्र आगामी सोमबार असोज १४ गते बोलकबोलमार्फत बिक्री गरिने छ भने असोज १५ गते निष्कासन हुने छ ।

ऋणपत्रमा इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।

ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याज कर लाग्ने राष्ट्र बैङ्कले जनाएको छ । आगामी २०८८ असोज १५ गते परिपक्व हुने यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइने छ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन पाउने छन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख र एक अर्ब ९६ करोड ५० लाख छुट्याइएको छ । अप्रतिस्पर्धी बोलबालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने छ । ऋणपत्र खरिदका लागि घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजार रुपियाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा हुनुपर्ने सीमा राष्ट्र बैङ्कले तोकेको छ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रूपमा मात्र भाग लिन सक्ने छन् भने राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अप्रतिस्पर्र्धीका रूपमा भाग लिन नपाउने बताइएको छ । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अङ्कसम्म मात्र) उल्लेख गर्नु पर्ने छ । इच्छुक बोलवालाले बहुब्याजदरमा समेत बोल गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।