• २० वैशाख २०८१, बिहिबार

१९औं एसियाली खेलकुद : पदकबाट टाढिएको नेपाललाई पब्जीमा आशा

blog

महिला १० हजार मिटरमा प्रतिस्पर्धा गर्दै सन्तोषी श्रेष्ठ ।

हाङझाउ, असोज ११ गते । १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालको पदक सम्भावना विस्तारै टाढिदै गएको छ । पदकको आशा गरिएको मार्सल आर्ट्स खेलहरुमा नेपालले निराशाजनक प्रदर्शन गरेपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै गएको हो । 

नेपालले अब पदक छुने सम्भावना पब्जी, क्रिकेट र करातेमा राखेको छ । करातेको स्पर्धा अक्टोबर ५ तारिखदेखि सुरु हुनेछ । शुक्रबार नेपालले इस्पोर्ट्सको पब्जी मोबाइल स्पर्धातर्फ सेमिफाइनलमा स्थान बनाउँदै पदक जित्ने सम्भवना जिवित राखेको छ।

एसियाडको सातौं दिन पब्जीबाहेक नेपालले खेलेको एथलेटिक्स, ब्याडमिन्टन, महिला बास्केटबल, पौडी, महिला ह्यान्डबल, ट्रायथलनलगायत खेलमा कमजोर प्रदर्शन गरेको छ । 

एथ्लेटिक्समा सन्तोषी र सोमको खराव नतिजा 

१९औं एसियाडमा शुक्रबारदेखि एथ्लेटिक्सतर्फ नेपालको खेलाडीको स्पर्धा सुरु भएको छ । महिला १० हजार मिटरमा सन्तोषी श्रेष्ठ र पुरुष ४०० मिटरमा सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्नुभयो । तर दुवैले खेलाडीले आफ्नो पुरानो सयमै सुधार गर्न सक्नुभएन । राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राख्नुभएकी सन्तोषी महिला १० हजार मिटरमा सन्तोषीले निर्धारित दूरी ३८ मिनेट ४०.१५ सेकेण्डमा पूरा गर्नुभयो । 

पुरुष ४०० मिटरमा नेपालका सोमबहादुर कुमार हिट चरणबाटै बाहिरिनुभयो । हिट २बाट प्रतिस्पर्धा गर्नुभएका उहाँले निर्धारित दूरी ४८.६८ सेकेण्डमा पूरा गर्नुभयो । उहाँ आफ्नो हिटमा ७ मध्ये पाँचौमा रहनुभयो । उहाँले राष्ट्रिय कीर्तिमानको अपेक्षा राखेपनि पूरा गर्न सक्नुभएन । पुरुष ४०० मिटरमा आशाराम चौधरीले १९९० मा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । 

गत जुनमा थाइल्याण्डमा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोम त्यसको नजिक पुगेर थोरैले चुक्नुभएको थियो । त्यसबेला उहाँले ४८.३३ सेकेण्ड समय निकाल्नुभएको थियो । 

गल्फमा नेपालको कमजोर प्रदर्शन 

हाङझाउ, असोज १२ गते । १९औं एसियाड अन्तर्गत गल्फ खेलमा नेपालले प्रदर्शन कमजोर बनेको छ । 

पार ७२ को वेस्ट लेक इन्टरनेशनल गल्फ कोर्समा भएको पुरुष ब्यक्तिगत स्पर्धामा शुक्रबहादुर राई बाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाउन सक्नुभएन । दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेल्नुभएका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर छ । 

पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राख्नुभएको थियो । उहाँ समग्रमा २९औं स्थानमा रहँदै फाइनल राउन्डमा प्रवेश गर्नुभएको छ । 

यस्तै नेपालले पदकको आशा गरेको सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन सोचेजस्तो हुन सकेन । समग्रमा इभनपार एक सय ४४ खेल्नुभएका सुवास र दुई ओभर एक सय ४६ खेल्नुभएका सद्भाव ब्यक्तिगत स्पर्धाबाट बाहिरिनुभएको छ । 

अर्का सहभागी युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ खेल्दै बाहिरिनुभयो । नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुस्मा सिग्देल र कस्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर खेल्नुभयो । 

दोस्रो दिन शुक्रबार कस्मिराले ११ ओभर ८३ र सुस्माले १६ ओभर ८८ खेल्नुभएको थियो । नेपाल महिला टिम स्पर्धामा १३औं भयो । १४ टोली सहभागी टिम इभेन्टमा नेपालले मंगोलियालाई पछि पारेको हो ।

एसियाड गल्फको पुरुषतर्फ हङकङका कहो ताईची कूल २२ अन्डर एक सय २२ स्कोरका साथ शीर्षस्थानमा हुनुहुन्छ । 

थ्री बाइ थ्री बास्केटबलमा सबै हार 

एसियाड अन्तर्गत थ्री बाइ थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । दोस्रो पटक एसियाडमा सहभागिता जनाएको महिला टोली यस पटक एउटै खेल जित्न सकेन । देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ अङ्कले पराजित भयो । नेपालका लागि कप्तान श्रेषा खड्का र मिना गुरुङले एक एक स्कोर गर्नुभयो । नेपाल यसअघि जापान र कजाकस्तानसँग पराजित भएको थियो । 

यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालको पुरुष र महिला दुवै थ्री बाइ थ्रीमा प्रतिस्पर्धा गरेको थियो । यसपटक पुरुष टोली सहभागी भएन । 

यस्तै शुक्रबार नेपालका पौडीबाज नासिर हुसैन शाह चार सय मिटर फ्रिस्टायलमा हिट चरणबाटै बाहिरिनुभयो । यससँगै नेपालको एसियाड पौडी सहभागितामै सकिएको छ । 

महिला ह्यान्डबलमा पनि शुक्रबार नेपाल हङकङसँग २७–१८ ले पराजित भयो । ट्रायथलनमा प्रतिस्पर्धा गर्नुभएका नेपालका मौलिक महर्जनको यात्रा पनि अगाडि बढ्न सकेन ।