• १२ मंसिर २०८१, बुधबार

मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लुबाट मृत्यु

blog

मोन्टेभिडियो, असोज १२ गते । बर्ड फ्लु लागेर उरुग्वेको समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन् ।

मोन्टेभिडियोको समुद्री किनारमा सि लायनलाई बर्ड फ्लु लागेको यकिन भएपछि सम्बन्धित मन्त्रालयहरूले निगरानी गरिरहेका छन् । सरकारी अधिकारीहरूका अनुसार मरेका समुद्री जनावरहरू आन्ध्र महासागरको किनारमा फेला देखापरेका तथा तिनबाट भाइरसको फैलावट  हुन नदिन तीन सय ५० वटालाई गाडिएको छ ।

वातावरण मन्त्रालयका जीवजन्तु विभागका प्रमुख कार्मेन लिजागोयेनले बर्ड फ्लुका कारण जलचर मरेका बताउनुभएको छ । उहाँले रोग नियन्त्रण गर्न नसकिने बताउँदै जलजीवको प्रतिरोधात्मक क्षमता विकास भएपछि ती नमर्ने उहाँले एएफपीलाई बताउनुभयो । ती जलचरमा प्रतिरोधात्मक क्षमता विकास कहिलेसम्ममा भइसक्छ भन्न नसकिने पनि उहाँले उल्लेख गर्नुभयो ।

उरुग्वेमा तीन लाख १५ हजार सिल र सि लाइन रहेका अनुमान गरिएको छ । जनावरहरूबाट मानवमा बर्ड फ्लु नसरे पनि विभाग प्रमुख लिजागोयेनले समुद्र तटमा नजान सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । रासस/एएफपी