• १२ मंसिर २०८१, बुधबार

अमेरिका जान इजरायलीले भिसा लिनु नपर्ने

blog

वासिङ्टन,  असोज  १२ गते ।  इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । 

आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने  इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ तर निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ । 

‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्नसक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ,’ अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक बुँदामा भनिएको छ । होमल्याण्ड सेक्युरिटीले निर्धारण गरेका पूर्वसर्तको पालना नभएमा इजरायलीले प्रवेशाज्ञा (भिसा) पाउने छैनन् । 

बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ ।  संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनुनपर्ने’ सुविधा र सम्मान दिएको छ । बाइडेन प्रशासनले वासिङ्टन, जेरुसेलम र रियादबीच चलिरहेको त्रिदेशीय वार्ताको परिणामका रुपमा पनि लिइएको छ । अब इजरायलले  प्यालेस्टिनीहरूसँग राम्रो व्यवहार गर्ने अपेक्षा गरिएको छभने इजरायलमा साउदी लगानी बढ्ने आशा गरिएको छ । अमेरिकी मध्यस्थतामा साउदी र इजरायलबीचको सम्बन्ध सामान्य बन्दै गएको छ । गत साता साउदी अरबको एउटा उच्चस्तरीय टोली प्यालेष्टिनी क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो । 

“भिसा छुट कार्यक्रममा इजरायललाई सहभागी गराउनु हाम्रो साझा सुरक्षा चासो हो,  यसले हाम्रा दुई देशबीचको घनिष्ठ सहयोग र सहकार्यलाई प्रतिविम्बित गरको छ,” होमल्याण्ड सुरक्षा सचिव अलेजान्ड्रो मेयोर्कासले एक वक्तव्यमा भन्नुभएको छ, “यसले संयुक्त राज्य अमेरिका र इजरायल बीचको एक दशकभन्दा बढीको काम र समन्वयलाई प्रतिनिधित्व गर्दछ, यसले आतङ्कवाद विरोधी सहकार्य, कानुन प्रवर्तन र हाम्रा अन्य साझा प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न प्रेरणा दिएको छ ।”  

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकी निर्णयको स्वागत गर्नुभएको छ । अमेरिकाका लागि इजरायलका राजदूत माइकल हर्जोगले पनि अमेरिकी घोषणालाई दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण उपलब्धि भन्दै त्यसको प्रशंसा गर्नुभएको छ । “यसले हाम्रो विशेष सम्बन्धलाई झल्काएको छ, जसले जनस्तको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ,” सामाजिक सञ्जाल एक्समा उहाँले लेख्नुभएको छ ।  रासस /एपी