• १३ मंसिर २०८१, बिहिबार

बिरामीको उपचार गर्न छाडेर चिकित्सक सडकमा

blog

बिरामीको उपचार गर्न छाडेर सुरक्षा माग्दै सडकमा उत्रेका बाँकेका चिकित्सकहरु । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ११ गते । बिरामीको उपचार गर्न छाडेर चिकित्सक चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सडकमा निस्केका छन् । नेपाल चिकित्सक सङ्घ बाँकेको नेतृत्वमा जिल्लाका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू काम छाडेर सुरक्षाको माग गर्दै सडकमा उत्रेका हुन् ।

नेपाल चिकित्सक सङ्घ बाँकेका अध्यक्ष डा. विनोदकुमार थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृङ्खलाबद्ध रूपमा आक्रमण हुन थालेपछि बाध्य भएर सुरक्षाको ग्यारेन्टी माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । 

उहाँले चिकित्सकमाथि सुनियोजित रूपमा गरिएका साङ्घातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनुको विकल्प नरहेकाले यो अवस्था आएको बताउनुभयो । 

अध्यक्ष डा. थापाले सरकारले दोषीमाथि कारबाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो । आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर डाक्टरहरू आन्दोलनमा उत्रिएपछि बाँके र विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आउने बिरामी मर्कामा परेका छन् । 

नेपाल चिकित्सक सङ्घ बाँकेले पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा शृङ्खलाबद्ध रूपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको जनाएको छ । सङ्घका अनुसार पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि स्वास्थ्यकर्मीहरू सुरक्षा खोज्दै आन्दोलनमा उत्रेको जनाएको छ । 

यसअघि बुधवार आयोजना गरिएको जिल्लाका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकको भेलाले बिहीबार बिहानसम्म सरकारको तर्फबाट दोषीलाई कारबाही नगरिएमा आन्दोलनमा उत्रिने निर्णय गरिएको थियो । 

सोही निर्णय बमोजिम बिहीबारबाट आफूहरू आन्दोलनमा उत्रिएको वेस्टर्न अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताउनुभयो । उहाँले चिकित्सकको सुरक्षा अति नै गम्भीर मोडमा पुगेको जनाउँदै आफ्नो सुरक्षा नभएसम्म अरूको ज्यान कसरी जोगाउन सकिन्छ ? प्रश्न गर्दै यस विषयमा सरकारले तत्काल गम्भीर भएर निर्णय गर्नुपर्ने माग गर्नुभयो ।