हाङझाउ, असोज ११ गते । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रशंसा गर्नुभएको छ ।
१९औँ एसियाली खेलकुदको उद्घाटन भएको ओलम्पिक स्पोर्ट्स सेन्टरमा बिहीबार पुस्तकका लेखक नवीन अर्यालसँग भेटघाट गर्ने क्रममा सिंहले एसियाली खेलकुदको नालीबेली समेटिएको पुस्तक विश्व खेलकुदका लागि पनि ‘माइलस्टोन’हुने बताउनुभयो । उहाँले आफ्नो ठुलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहको योगदान पुस्तकमा समेटिएकोमा लेखकलाई विशेष धन्यवाद दिनुभयो ।
‘‘यो पुस्तक नेपाली खेलकुदका लागि मात्र होइन, अन्तर्राष्ट्रिय खेलकुदका लागि पनि खुराक हुन सक्छ,’’ लेखकसँगको भेटमा उहाँले भन्नुभयो ।
बिहीबार ओलम्पिक स्पोर्ट्स सेन्टरमा ‘म्युजियम’ उद्घाटनको कार्यक्रम पनि थियो । कार्यक्रममा चिनियाँ पत्रकारहरूको ठुलो उपस्थिति थियो । लेखक अर्यालले एसियाली खेलकुदको इतिहास समेटिएको पुस्तक तयार पार्न आफूलाई दुई वर्ष लागेको बताउनुभयो । पत्रकार अर्यालको पुस्तक असार २८ गते काठमाडौँमा सार्वजनिक भएको थियो ।
पुस्तकमा आफ्नो ठुलो बुवाको हस्ताक्षरसहित सन् १९५१ को पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि सिंहले आयोजक चीनका पदाधिकारीलाई बोलाएर निम्तो देखाउनुभएको थियो ।
‘‘यी हेर्नुस् मेरो ठुलो बुवाले पहिलो एसियाली खेलमा पठाएको निम्तो,’ उहाँले पुस्तक देखाउँदै भन्नुभयो । यस अवसरमा ओसीएका मानार्थ उपाध्यक्ष वेइ जिझोङ, ओसीएका उपाध्यक्ष सङ लुजेङ र ले. जर्नेल सैयदआरिफ हसनतथा इरानका एनओसी महासचिव सेयदमनाफ हासिमीको पनि उपस्थिति थियो । उहाँहरूले पनि दस्ताबेजलाई चासोका साथ हेर्नुभएको थियो ।
ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको म्युजियममा दिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलको थुप्रै दस्ताबेज छैनन् । त्यसैले किताबमा रहेको दस्ताबेज बहुमूल्य बन्न सक्ने तर्फ राजा रणधीर सिंहले इंकित गर्नुभएको थियो ।
उहाँले राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष शरदचन्द्र शाहको सम्झना गर्दै नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशमशेर राणासँग आत्मीय सम्बन्ध रहेको पनि बताउनुभयो ।
राजा रणधीर सिंहको परिवार विगत सात दशकदेखि ओलम्पिक मुभमेन्टमा सक्रिय छ । सन् १९८४ मा नेपालमा पहिलो साफ गेम्स आयोजना गर्न उहाँको बुवा भलिन्दर सिंहले विशेष योगदान गर्नुभएको थियो ।