• २१ वैशाख २०८१, शुक्रबार

१९औं एसियाड : सहभागितामै सकियो तेक्वान्दोको यात्रा

blog

एसियाड तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै नेपालकी खेलाडी ।

हाङझाउ, असोज ११ गते । १९औं एसियाली खेलकुद (एसियाड) मा पदकको बढी आशा गरेको तेक्वान्दो खेलमा नेपालको यात्रा सकिएको छ । 

लिनआन स्पोर्ट्स कल्चर एण्ड एग्जीबिसन सेन्टनमा बिहीबार बिहान नेपालका ज्याकी यादव ८० केजी तौल समूहमा जोर्डनका अनास सादेकसँग २–० ले पराजित हुनुभयो । 

यादवको हारसँगै जारी हाङझाउ एसियाडमा नेपालबाट सहभागी ११ तेक्वान्दो खेलाडी पदकविहीन भएका छन् । एसियाडमा गौरवपूर्ण इतिहास बोकेको नेपाली तेक्वान्दो पछिल्लो चार संस्करणमा पदकविहीन बन्दै आएको छ । 

एसियाडमा नेपालले अहिलेसम्म २४ पदक जितेकोमा तेक्वान्दाबाट सर्वाधिक १५ पदक जितेको छ । जसमा एक रजतसहित १४ काँस्य समावेश छ । 

नेपालका लागि सन् १९९८ मा थाइल्यान्डमा भएको एसियाडमा नेपालका लागि तेक्वान्दोमा सविता राजभण्डारीले पहिलो रजत दिलाउनुभएको थियो । पछिल्लो पटक तेक्वान्दोमा सन् २००६ को दोहा एसियाडमा नेपालका लागि दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले काँस्य जिताउनुभएको थियो । 

तेक्वान्दोमा दिन प्रतिदिन नतिजा खस्किनुलाई खेलमा लगाव नभएको तेक्वान्दोका ओलम्पियन खेलाडी दीपक विष्ट बताउनुहुन्छ । ‘‘अन्य देशको तुलनामा नेपाली खेलाडी कमजोर देखिएका छन् । हामी खेल खेलाउने बाटोमा मात्र गएका छौं । पदक ल्याउने बाटोमा गएका छैनौं । भएका राम्रा खेलाडीको संरक्षण नहुँदा विदेश पलायन भएको अवस्था छ । तेक्वान्दोमा विवाद बढी छ । विवाद गर्नेलाई साइड लगाउन आवश्यक छ,’’ विष्टले भन्नुभयो । 

उहाँले पदकका लागि खेलाडी पनि इमान्दार र मेहनती बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिले जस्तो अहिलेका खेलाडीमा लगाव छैन । सङ्घका पदाधिारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि त्यति सिरियस छैन । हामी समय र नयाँ प्रविधि अनुसार चल्न सकेका पनि छैनौं । पुरानै ढर्रामा चल्नु अर्को कमजोरी हो । पदक ल्याउन खेलाडीलाई धेरै एक्सपाेजरको खाँचो छ ।’’

हाङझाउ एसियाडमा तेक्वान्दोबाट सहभागी अन्य खेलाडीमा पुरुष ८० केजीमुनि तौलमा अभिषेक बरालको यात्रा अन्तिम ३२ मै रोकियो । पुरुष ६८ केजीमुनि पदकको आश गरिएका वीरबहादुर महरा चाइनिज ताइपेइका यि जुयी चियुसँग २–० पराजित हुनुभयो । महिला ६७ केजीमुनि इन्द्रा बस्नेतले इरानमी भाकिली मिलिका मिरहुसेनीसँग २–० को हार खेप्नुभयो । 

यस्तै गोविन्दबहादुर आले पुरुष ६३ केजीमुनि अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित हुनुभयो । महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित हुनुभयो । महिला ५७ केजीमुनि सन्ध्याकुमारी सिंहको यात्रा अन्तिम १६ मा रोकियो । 

यसैगरी महिला ४९ केजीमुनि नेपालकी अञ्जली तामाङले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई हराए पनि प्रिक्वार्टरफाइनलमा थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग हार खेप्नुभयो । 

पुरुष ५८ केजीमुनि तौलमा नेपालका राहुल कुमाल पहिलो चरणमै साउदी अरेबियाका नासिर अहमदी रियादसँग हार खेप्दै बाहिरिनुभएको थियो । एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङको यात्रा पनि पहिलो चरणमै रोकियो ।