• १४ मंसिर २०८१, शुक्रबार

महभिरमा पहिरोले दुई घर पुरिए

blog

पहिरोले क्षति पुगेको स्थान र स्थलगत निरीक्षण गर्दै वडाध्यक्ष भेजेन्द्रमान पुन, वडा सदस्य गुरुङसहित स्थानीयबासी । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), असोज १० गते । म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थित ओडारबोटमा पहिरोले दुई घर पुरिएको छ । बुधबार बिहान २ बजे बस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले ओडारबोटका स्थानीय काले कामी र रविलाल घर्तीको घर पुरेको हो । 

पहिरोले कालेकामीको एक तले र घर्तीको दुईतले पक्की ढुङ्गे घरमा पूर्ण क्षति गरे पनि मानवीय क्षति भने नभएको वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, भारी वर्षासङ्गै आएको पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरेका छन् । विस्थापित  कामी  र घर्तीको परिवार आफन्तको घरमा शरण लिएर बस्नुभएको छ । 

‘आज बिहान दुई बजेको सयमा बस्तीमाथिको भिरबाट खसेको पहिरोले दुई घर पुरिएको छ । पहिरोले मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको छ’ वडा सदस्य गुरुङले भन्नुभयो । वडा सदस्य गुरुङसहित गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष भेजेन्द्रमान पुनलगायत जनप्रतिनिधि टोली र इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले स्थलगत निरीक्षण गरेका छन् । 

पहिरोले सोही बस्तीका करिब १६ घर जोखिममा परेका छन् । गाउँपालिका र वडाले  पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने जनाइएको छ । पहिरोले करिब १० लाख रुपियाँ बराबरको आर्थिक क्षति पुगेको वडा सदस्य गुरुङले बताउनुभयो । कमजोर र भिरालो भूगोलका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ ।