• ८ पुस २०८२, मङ्गलबार

हिउँद सुरु भएसँगै खर काट्ने चटारो

blog

कपुरकोट–३ लामिडाँडामा खर काटेर स-साना पुला पारेर बाँधेको । तस्बिरः शङ्कर केसी

शंकर केसी

शारदा (सल्यान), पुस ८ गते । सल्यानका ग्रामीण भेगमा हिजोआज स्थानीयहरूलाई खर, घुरो काट्ने चटारो छ । घरगोठ छाउने खर र गाईबस्तुलाई खुवाउन प्रयोग हुने सुकेको भुइँघाँस घुरो काट्ने र स्याहार्ने काममा विभिन्न गाउँका मानिसहरू व्यस्त छन् । हिउँद सुरु भएसँगै स्थानीयवासीहरू आफ्ना खरबारी, ढिक, काल्ना, खोरियाबारी तथा बन क्षेत्रमा व्यस्त देखिएका हुन् ।

परम्परागत रूपमा सल्यानका ग्रामीण भेगमा खरलाई आफ्नो घरगोठ छाउने प्रमुख सामग्रीका रूपमा स्थानीयले प्रयोग गर्दै आएका छन् । अहिले धेरैजसो घर जस्तापाता वा अन्य आधुनिक सामग्रीले छाएका भए पनि गाइबाख्रा बाँध्ने गोठ, खोर छाउनका लागि अझै पनि खर नै प्रयोग गर्ने चलन कायमै छ ।

कपुरकोट गाउँपालिका-३, लामिडाँडाका मोहन डाँगीले आफ्नो गाउँमा गाईबस्तु राख्न तथा अन्य विभिन्न काममा प्रयोग हुने गोठ, पाली, खोर छाउन अझै पनि खर नै भरपर्दो रहेको बताउनुभयो । “खरले छाएको गोठले जाडोमा न्यानो प्रदान गर्छ । त्यसैले हिउँद लागेपछि खर काट्ने गर्दछौं । हाम्रो खरबारिको खर त लगभग काटेर सकिन लाग्यो”, उहाँले भन्नुभयो । स्थानियहरूले गाईभैँसीको आहारका लागि घुरो काट्ने काम पनि यही समयमा गर्दछन ।

खर काट्नका लागि अरिमो परिमो गर्ने (बाहुरे जाने) चलन पनि जिल्लामा अझै जीवित छ । आफन्त, छिमेकी र गाउँलेहरू एकअर्काको खरबारीमा पालो मिलाएर सघाउने चलन छ । यो परम्पराले आपसी सहकार्य र सामाजिक सम्बन्धलाई थप बलियो बनाउँदै आएको स्थानीयहरू बताउँछन् ।

जिल्लाको कपुरकोट, सिद्धकुमाख, कालिमाटी, छत्रेश्वरी लगायतका अधिकांश स्थानीय तहमा खर र घुरो काट्ने चलन अहिले पनि  छ । विशेषगरी खर पाकिसकेपछि मङ्सिर पुसतिर काट्ने गरिन्छ । यसअघि नै वर्षा सुरु भएसँगै खर र घाँस पलाउने क्षेत्रलाई संरक्षण गर्न गाईबस्तु चराउन बन्देज लगाइन्छ । खर घुरो काट्नमा विशेष गरि महिलाहरू बढी खट्ने गरेको स्थानीय लक्ष्मी गिरीले बताउनुभयो।

आगो, पानी, हुरी बतासबाट हुने बिपदबाट बच्न भन्दै पछिल्लो वर्षयता जिल्लामा खरको छाना मुक्त गर्ने अभियान नै चलेको छ । तर बुढापाकाहरू भने ढुङ्गा माटोको गारो र खरको छानो भएका घरहरू वातावरणमैत्री र स्वास्थ्यका लागि उपयुक्त हुने बताउँछन् । खरको छाना र ढुङ्गा माटोको गारो भएका घरहरू जाडोमा न्यानो र गर्मीमा चिसो हुने स्थानीयहरूको अनुभव छ ।