यदुप्रसाद भट्ट
मनाङ, असोज १० गते । लमजुङको बेँसीसहरबाट सुरू हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ (५,४१६ मिटर) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । पहिले २१ दिन लाग्ने पदमार्ग अहिले सातदेखि १० दिनमा नै पूरा गर्न सकिन्छ । यसको प्रमुख कारण सडक निर्माण नै हो ।
यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् भने कतिपय स्थानमा पदमार्ग नै मेटिएका छन् । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडकको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । मनाङमा २०५० सालसम्म होटल खुलेका थिएनन् । न त चक्रीय अन्नपूर्ण पदमार्गको प्रचारप्रसार थियो । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थाल्यो ।
एकयापले सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने कार्य गर्न थाल्यो र विस्तारै यसको प्रचारप्रसार हुन थाल्यो । त्यति बेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैनथ्यो । भरियाले बेँसीसहरबाट पाँच÷छ दिन लगाएर भारी बोकेर सामग्री पुर्याउने गरिन्थ्यो ।
सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र भर्याङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउनुहुन्छ । अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई कम मात्रामा भरिया प्रयोग गरिन्छ । ‘‘गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ ।’’ उहाँले भन्नुभयो ।
२०६९ सालमा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधैँ होटलमा बास बस्न आइपुग्छन् । होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपर्दैन । ‘‘पहिले जस्तो छैन अहिले, गाडी चल्यो, मान्छे र सामान सँगसँगै गाडीमै आइपुग्छ, अहिले भरिया खासै हुँदैनन्’’, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८० वर्षीय याङदुङ गुरुङले भन्न्ुभयो, ‘‘भरियाविनै काठमाडौं–पोखराबाट बेँसीसहर हुँदै सिधै माथिल्लो मनाङ पुग्छन् ।’’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा बर्सेनि १९ हजारको हाराहारीमा विदेशी पर्यटक आउने गर्दथे । सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क सङ्कलन गरेको छैन । बेँसीसहरसम्म मोटर चल्ने भएकाले पर्यटक बेँसीसहर बास बस्न आइपुग्थे । बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे ।
जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेले दुई जना बराबर एक जना भरियाले सामान बोक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिँडेरै आउने पर्यटकसँगै उनीहरूका भारी बोक्ने भरियाको राम्रो कमाइ हुन्थ्यो, नेपाली भनेर मनाङीले भरिया सुतेको पैसा लिँदैनथे, अचेल त पर्यटक गाडीमा आउँछन्, त्यसकारण भरिया नै देखिँदैनन् ।’’
अहिले सवारीसाधान चलेपछि काठमाडौं–पोखराबाट पर्यटक सिधै मनाङ आइपुग्छन् । खाङ्सारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला भञ्ज्याङ हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया बेँसीसहरबाटै लैजानुपर्थ्याे ।
गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ । धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ । मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ । सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ । पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो । उहाँले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौंसम्म पुगे गरेगुगिन्छ । धारापानीदेखि तिल्चे (मनाङ) सम्म पनि यातायात चल्छ । तर दूधखोलामा पुल नहुँदा वर्षायाममा यातायात ठप्प हुन्छ । त्यसपछि भीमथाङ, लार्के (मनाङ–गोरखा) सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ ।
मनास्लु पदमार्गको यस मार्ग अहिले खच्चडमार्फत सामग्री ढुवानी गर्न सहज र छिटो हुन्छ । तिलिचो जान आउनेका लागि खाङ्सारसम्म जिपमार्फत एकै दिनमा पुग्न सकिन्छ । खाङ्सारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ । त्यहाँबाट दुई दिनको यात्रामा थोराङ्ला बेसक्याम्प पुगिन्छ ।