• १० जेठ २०८१, बिहिबार

सुशासनको मार्गचित्रको तयारीमा सरकार छ : कार्यवाहक प्रधानमन्त्री खड्का

blog

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, असोज १० गते ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।

बुधबार सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी गरिरहेको बताउनुभएको हो । रक्षामन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउनुहु्ँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

‘सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ,’’ उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।’’ कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णाली करिडोर चीन सरकारले बनाउने निर्णय भएको बताउनुभयो ।

उहाँले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वय गरेर अगाडि बढेको जानकारी दिनुभयो । बजेट कार्यान्वयनका प्रक्रियालाई छिटो, छरितो, सरल बनाउनका लागि हुने ढिलासुस्तीलाई सुधार्दै अगाडि बढाउनेबारे पनि सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो । ‘‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’’ उहाँल भन्नुभयो, ‘‘अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण छैन ।’’ उपप्रधानमन्त्री खड्काले विकासमा राजनीतिक गर्न नहुने खड्काले बताउनुभयो ।

मदन भण्डारी राजमार्गको बडिचौर बेनिघाटका सडक विस्तारको प्रक्रिया पनी अगाडि बढेको बताउनुहुँदै उहाँले चुनावको समयमा बजेट कार्यान्वयनको विषयमा जनतामाझ आश्वासन दिएका कुरा अगाडि बढेको बताउनुभयो ।