• १२ असार २०८१, बुधबार

म्याद गुज्रेका सामान बेच्नेलाई एक लाख रुपियाँसम्म जरिबाना

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, असोज १० गते । बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा–७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिबाना तिराएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक गुरुदत्त ढकालले स्टोर्समा म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएपछि समितिले एक लाख रुपियाँ जरिबाना तोकेको जानकारी दिनुभयो । 

मीनबहादुर शेरचन स्टोर्सलाई १२ ग्यालिन पाँच लिटरको तोरीको तेल, लेबलिङ नभएको मिट मसला, चिजबल १५ प्याकेटलगायतका करिब २९ हजारका सामान म्याद गुज्रेको नियन्त्रणमा लिएर समितिले नष्ट गरेको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ । 

समितिले पोखरा–३, पालिखेचोकको गौरव ट्रेडर्सलाई १० हजार जरिबाना गरेको छ । गौरवमा पनि म्याद गुज्रिएका सामान भेटिएका थिए । पालिखेचोककै किराना पसल सञ्चालक रेशमलाल श्रेष्ठलाई पाँच हजार जरिबाना गरिएको छ। श्रेष्ठको पसलबाट म्याद गुज्रेको ११ किलो सुजीसहित अरू पदार्थ भेटिएका थिए । श्रेष्ठको पसल दर्तासमेत नभएको पाइएको छ । 

आइतबारको अनुगमनमा पोखराको चिप्लेढुङ्गामा रहेको भागीरथ स्टोर्सलाई ५० हजार रुपियाँ जरिबाना गरिएको थियो । स्टोर्समा म्याद गुज्रेको खाने तेल, लेबल नभएका झिलिङ्गा, किरा परेको २५ किलो सुपारी नियन्त्रणमा लिएर समितिले नष्ट गरेका थियो । समितिले लापरबाही गर्ने पोखरा–५, पस्र्याङमा रहेको केसी स्टोर्सलाई पनि १५ हजार रुपियाँ जरिबाना गरेको थियो । 

पोखराका खाद्य स्टोर्सका लापरबाहीबारे बारम्बार गुनासो आएपछि अनुगमन थालेको ढकालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त टोलीले अनुगमन गरेको हो ।