• ११ मंसिर २०८१, मङ्गलबार

भौतिक पूर्वाधारको अभावमा आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय

blog

यादवराज पुरी
रौतहट, असोज ९ गते । 
चन्द्रपुर नगरपालिकामा रहेको आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय भौतिक पूर्वाधारको अभावमा सञ्चालित छन् ।

नगरपालिकाले भौतिक पूर्वाधार विकासमा चासो नदिएको कारण विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने भवन, कक्षा कोठा, शिक्षण सामग्री, व्यवस्थित शौचालयलगायतका भौतिक पूर्वाधारको अभावमा नै विद्यालय सञ्चालन हुँदै आएको छ ।

विगतमा विद्यालयको भौतिक संरचना निर्माणका लागि अनेकौँ पटक पालिकाको ध्यानाकर्षण गराउँदा कुनै चासो नराखेपछि यथास्थितिमा नै आफ्ना नानीबाबुलाई स्कुल पठाउनु परेको अभिभावकका गुनासा छन् । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले पालिकामा सञ्चालित आधारभूत तहका विद्यालयमध्ये कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून रहेको र कुनैमा कक्षाकोठा, पक्की शौचालय, खानेपानीलगायतका भौतिक पूर्वाधार विकासको अभाव रहेको बताउनुभयो । उहाँकाअनुसार कटानी नयाँवस्तीमा रहेको जनता आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेख्य रहेपनि कक्षा कोठाको अभाव छ । त्यस्तै प्रावि वसन्तपुरमा सञ्चालित कक्षा ६ र ७ मा जम्मा ८/१० जना मात्रै विद्यार्थी रहेकोले उक्त विद्यालयलाई कक्षा ५ सम्म मात्र सञ्चालनको अनुमति दिने तयारी भइरहेको छ ।

यस्तै, चन्द्रपुर–८ बेतौनामा रहेको दलित जागरण, वडा नम्बर २ असनवाको श्री आधारभूत, सिरानटोलको माइस्थान प्रावि र वडा नम्बर ३ हिलेखोलामा सञ्चालित हिलेश्वर प्राविमा कक्षा कोठा, शौचालय र खानेपानीको ठुलो समस्या रहेको सम्बन्धित विद्यालयका अभिभावकको गुनासो छ । 

श्री आधारभूत प्रावि असनवाका अभिभावक रामेश्वर धामीले विद्यालयमा शौचालयको व्यवस्था नहुँदा शिक्षक, विद्यार्थी  एवम् आगन्तुकलाई शौच गर्न ठुलो समस्या परेको बताउनुभयो । विद्यालय नजिकैको खेतबारीमा शौच गर्न जानु पर्ने उहाँहरूको बाध्यता छ । यस्तै, अन्य अधिकांश विद्यालयको अवस्था पनि उस्तै छ ।

शिक्षा विकास तथा समन्वय इकाई गौरका प्रमुख रामविनय सिंहले भौतिक संरचनाको अभावमा जिल्लाभरिका आधारभूत विद्यालयको पठनपाठन प्रभावित बनेको बताउनुभयो । उहाँकाअनुसार जिल्लाको १८ वटै पालिकामा चार सयको हाराहारीमा सामुदायिक आधारभूत विद्यालय सञ्चालनमा छन् । अधिकांश विद्यालय भौतिक संरचनाको अभावमै सञ्चालित छन् । सम्बन्धित पालिकाले त्यस्ता भौतिक संरचनाको उचित प्रबन्ध गरी अध्ययन अध्यापन सहज र सरल बनाउनु पर्ने उहाँको सुझाव छ ।

यता चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले दिनुभएको अभिव्यक्ति अनुसार शैक्षिक सुधारका विभिन्न योजना बनाएर शिक्षा सुधार गर्ने पालिकाको नीति छ । आउँदा दिनमा सबल शैक्षिक वातावरणमा विद्यालय सञ्चालन हुन्छ ।