• ४ पुस २०८१, बिहिबार

तीनकन्यामा विद्युतीय लिफ्टबाट घरमा पानी

blog

आधारभूत विद्यालय माझकुभिण्डेमा यो वर्ष खानेपानीको सुविधा भएपछि रमाउँदै विद्यार्थी । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असोज ९ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तीनकन्या कुभिण्डेका बासिन्दा विद्युतीय लिफ्टबाट घर–घरमा खानेपानीको सुविधा पाउँदा खुसी भएका छन् ।

लामो समयदेखि खानेपानीको लागि समस्या झेल्दैआएका तीनकन्या कुभिण्डेका बासिन्दा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक संस्थाले लिफ्टबाट खानेपानीको सुविधा उपलब्ध गराएपछि खुसी भएका हुन् । 

एक वर्षअघि निर्माण सुरु गरिएको सो खानेपानी योजना हालै निर्माण सम्पन्न भएपछि उपभोक्तालाई घर–घरमा खानेपानी सुविधा पुगेको स्थानीयले बताएका छन् ।

कुभिण्डे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार गोलन्जोर गाउँपालिका, नेवा र स्थानीय उपभोक्ताको श्रमदान गरेर एक करोड २६ लाख ४९ हजार ६४९ रुपियाँको लागतमा ट्रिपल लिफ्टको व्यवस्थासहित खानेपानी योजना निर्माणको सम्पन्न गरिएको हो । सो योजना अन्तर्गत ७६ वटा धारा जडान गरी उपभोक्तालाई खानेपानी वितरण गरिएको छ ।

समितिका अध्यक्ष लीलाबहादुर आलेले अहिले एक सय ३२ घरधुरीले चौबिसै घण्टा खानेपानीको सुविधा पाएको जानकारी दिनुभयो । लिफ्टबाट सञ्चालित खानेपानी योजना भएकाले विद्युत महसुल धेरै उठ्ने हुँदा सहुलियतमा विद्युत उपलब्ध हुनुपर्ने उहाँको भनाइ छ ।

झण्डै पाँचसय मिटर गहिरामा रहेको खोलाबाट तीनवटा लिफ्ट मेसिनमार्फत डाँडामा पानी फ्याकेर उपभोक्तालाई खानेपानीको व्यवस्था गरेको नेवाका कार्यक्रम अधिकृत नवीन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी योजना निर्माणको कुल लागत रकममध्ये गोलन्जोर गाउँपालिकाको समपूरक कोषबाट ३२ लाख २१ हजार ६७९ रुपियाँ, नेवाको ७२ लाख १९ हजार २४८ रुपियाँ र समुदायको जनश्रमदानबाट २२ लाख ८ हजार ७२२ रुपियाँ बराबरको रहेको छ । 

गत आर्थिक वर्ष २०७९/८० मा नेवाले सिन्धुली जिल्लाका चार वटा गाउँपालिका तथा दुई वटा नगरपालिकामा खानेपानी तथा सरसफाइमा काम गरेको नेवाका कार्यक्रम अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका वडा १, ३, ५ र १० र दुधौली नगरपालिका ८, हरिहरपुरगढी गाउँपालिका –६, ७ र ८, मरिण गाउँपालिका –६, गोलन्जोर गाउँपालिका –४ र सुनकोशी गाउँपालिका –३ र ४ मा गरी जम्मा २२ वटा खानेपानी तथा सरसफाइका आयोजनाको काम सम्पन्न गरी स्थानीयलाई शुद्ध पिउने पानीको व्यवस्था गरेको नेवाले जनाएको छ ।

निर्माण भएका आयोजनामा ग्राभिटी फ्लो, सोलार लिफ्ट तथा ग्रिड लिफ्ट प्रविधि अपनाइ पूर्ण स्वास्थ्य तथा सरसफाइ कार्यक्रम सञ्चालन गरी सम्पूर्ण आयोजना उपभोक्तालाई हस्तान्तरण गरिने बताइएको छ ।