• ११ कात्तिक २०८१, आइतबार

अवैध दोहनले घाट गायब

blog

प्रनिश गिरी 

कुस्मा (पर्वत), असोज ९ गते । पर्वत र बागलुङ खण्डमा पर्ने कालीगण्डकी नदी किनारमा वर्षाको भेलमा समेत नदीजन्य पदार्थको अवैध दोहन रोकिएको छैन । वर्षामा बालुवा, गिट्टीको अत्यधिक दोहन गरिँदा यहाँको घाट गायब भएको छ । 

पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से भन्ने स्थानको कालीगण्डकी किनारमा रहेको शिवालय चौपारीघाटको संरचना नै हराएको छ । 

अवैध दोहनकै कारण फर्से बजारसँगै रहेको कालीगण्डकी नदी किनारमा अवस्थित १५० मिटरमा फैलिएको घाट अहिले देखिँदैन । नदीमा अवैध दोहन गरिँदा किनारमा शिवालय चौपारीघाटको संरचनासँगै रहेका शिव माध्यमिक विद्यालय, स्वास्थ्य चौकी भवन, कृषि उपज केन्द्रको भवनलगायत मानव बस्तीसमेत जोखिममा छ । स्थानीय सामाजिक अगुवा हरेमबहादुर खत्री भन्नुहुन्छ, “मृत्युपछि दाहसंस्कार गर्ने पवित्र शिवालय घाटबाट एक्साभेटर प्रयोग गरी बालुवा र गिट्टीसहित ढुङ्गा निकाल्दा जमिनको सतह गहिरो र साँघुरो भई घाट नै हराएको छ । स्थानीयले गङ्गा स्नान गर्ने ठाउँ अहिले छैन । घाटमा अहिले ढुङ्गा नै देखिँदैन ।” 

खत्रीका अनुसार क्रसर व्यवसायीसँगको मिलेमतोमा अवैध ढङ्गले नदीबाट नदीजन्य पदार्थ निकालेर बजार क्षेत्र नै जोखिममा पार्ने काम भएको छ । अवैध दोहन रोक्न खोज्दा धाक र धम्की खानु परेको गुनासो स्थानीय खत्रीको छ । घाटसहित सार्वजनिक सम्पत्तिको संरक्षण गर्न खोज्दा बालुवाको अवैध धन्दा चलाउनेबाटै स्थानीयवासी त्रसित बन्नु परेको गुनासो छ । स्थानीय तारा रेग्मीले आफ्नो जीवन रक्षा गरिदिन भनी जिल्ला प्रशासन कार्यालय पर्वतमा निवेदन दिएको बताउनुभयो । 

पटक पटक मसानघाटको संरचना उत्खनन नगर्न अनुरोध गरेको भए पनि सुनुवाइ नभएपछि बिहीबार राति १० बजे गाउँले सबै जुटेर एक्साभेटरसहित तीन वटा बालुवाले भरिएको टिप्पर नियन्त्रणमा लिएको स्थानीयले बताएका थिए । नदीमा अवैध ढङ्गले दोहन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएका ठुला मेसिनलाई स्थानीयवासीले शुक्रबारका दिन प्रहरी, वडाध्यक्ष र स्थानीय नागरिक समाजको उपस्थितिमा मुचुल्का उठाई कारबाही गर्न भनी प्रहरीलाई बुझाएका हुन् । डिएसपी खुमलाल भुसाल भन्नुुहुन्छ, “सम्बन्धित वडाका अध्यक्ष र सरोकारवालाबिचको रोहबरमा मुचुल्का उठाई कारबाही अगाडि बढाइएको छ । दोहन गर्नेलाई अधिकतम जरिबानासहित कानुन अनुसार कारबाही गरिने र अबदेखि फर्से बजार क्षेत्रमा अवैध नदी दोहन नगरिने दुवै पक्षबिच समझदारी भएको छ ।” 

कालीगण्डकी नदी आसपास रहेका क्रसर व्यवसायीले अवैध रूपमा नदीजन्य पदार्थलाई एक्साभेटर, डोजर, लोडर जस्ता ठुला मेसिन प्रयोग गरी दोहन गर्दै आएका छन् । स्थानीय प्रशासन, प्रहरीले कालीगण्डकी नदीमाथि भइरहेको अवैध दोहनलाई बेवास्ता गरेपछि आफू नै नदी जोगाउन लागिपरेको स्थानीयवासी बताउँछन् । 

स्थानीयवासीले बिहीार फर्से बजारमा प्रशासन, प्रहरी र सरोकारवालाको भेला डाकेर अवैध दोहनले निम्त्याएको जोखिम रोक्न माग गरेका छन् । गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा सञ्चालन व्यवस्थित गर्न तयार गरेको कार्यविधि–२०७५ अनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट उत्खनन गर्दा डोजर, एक्साभेटर, लोडर जस्ता भारी उपकरण प्रयोग गर्न बन्देज लगाइएको छ । अन्य क्षेत्रको हकमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मेसिन तथा औजार मात्र प्रयोग गर्न पाइने उल्लेख छ । 

असारदेखि भदौसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्थाको धज्जी उडाउँदै क्रसर व्यवसायीले रातिको समयमा कालीगण्डकी नदीको दोहन गरिरहेका छन् । कालीगण्डकी नदी आसपासका किनारमा रहेका क्रसर उद्योगसँगै बालुवा, ढुङ्गा र गिट्टीका ठुला ठुला पहाड जस्ता थुप्रा देख्न सकिन्छ । कालीगण्डकी नदीको अवैध दोहनले धार्मिक महत्वका शालिग्राम शिला लोप भइसकेका छन् । कालीगण्डकी नदीको किनारमा मात्रै पाइने शालिग्राम शिला हिजोआज पाउनै छाडिएका छन् । बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, कालाखोलाका साथै पर्वततर्फ मालढुङ्गा र फर्से बजार क्षेत्रका मानव बस्ती कालीगण्डकीको अवैध दोहनका कारण उच्च जोखिममा छन् ।