• १६ भदौ २०८१, आइतबार

कमजोर कथा ‘द नन २’

blog

काठमाडौँ, असोज ९ गते । सन् २०१८ मा प्रदर्शन भएको चलचित्र ‘द नन’ को सिक्वेल ‘द नन २’ को कथा त्यहीँबाट सुरु हुन्छ जहाँ चलचित्र ‘द नन’ को कथा समाप्त भएको थियो । यसमा फरक यति हो कि ‘द नन’ कोरिन हार्डीले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई माइकल चाभ्सले निर्देशन गरेका छन् । चलचित्रलाई सफल सिक्वेलका रूपमा बनाउन त खोजिएको छ तर चलचित्र हेर्दा पहिलेको कथाभन्दा कमजोर भएको महसुस हुन्छ । ‘द नन २’ को कथा पहिलो चलचित्रको घटनाको चार वर्षपछि सन् १९५६ मा रोमानियाबाट सुरु हुन्छ ।

चलचित्रको कथालाई पहिलो भागसँग जोड्न, मौरिस (जोनास ब्लोकेट) लाई राक्षसी शक्ति नन वाल्लाच (बोनी आरन्स) ले कब्जा गरेका हुन्छन् । मौरिसमार्फत उनले म्याकगफिन फेला पार्न मानिसलाई मार्ने गर्छन् । बहिनी इरेन (टाइसा फार्मिगा) र डेब्रा (स्टोर्म रिड) लाई फ्रान्सको बोर्डिङ स्कुलमा केही अनुसन्धान गर्न पठाइन्छ । जहाँ उनीहरूको भेट बालकसँग हुन्छ । दुवैले सेन्ट लुसीको आँखाको अवशेष खोजिरहेका हुन्छन् । यस अवशेषमा इरेन र बालक दुवैका लागि अपराजित शक्तिहरू छन् । चलचित्रको पूरै  कथा स्कुलमा नै समाप्त हुन्छ । यसको कथा यस्तो बिन्दुमा टुङ्गिन्छ जसले दर्शकलाई ९० को दशकको बलिउड हरर चलचित्र हेरिरहेको जस्तो महसुस गराउँछ । 

‘द नन २’ एउटा डरलाग्दो चलचित्र हो तर पूरै चलचित्रमा त्यस्तो कुनै क्षण छैन जसले दर्शकलाई नकमाओस् । डरलाग्दो चलचित्रको सबैभन्दा ठुलो कुरा भनेको त्यसको सङ्गीत नै हो तर यस चलचित्रको सङ्गीतमा पनि कुनै डर लाग्ने भाव छैन । ट्रिस्टन निबीको छायाङ्कनले चलचित्रका केही दृश्यमा डर देखाउने काम गरेको छ तर पनि  दर्शकलाई डरलाग्दो चलचित्र हेर्दै छन् भन्ने महसुस गराउन पर्याप्त प्रभाव भने छाड्दैन ।

माइकल चाभ्ससँग चलचित्रमार्फत आफूलाई प्रमाणित गर्ने सबैभन्दा ठुलो अवसर थियो तर ‘द कन्जुरिङः द डेभिल मेड मी डु इटु’ र ‘द कर्स अफ ला लोरोना’ जस्ता चलचित्र निर्देशन गरिसकेका उनको निर्देशन कौशल यस चलचित्रमा खासै देखिएन । उनका दुवै चलचित्र सामान्य भए पनि यो चलचित्र राम्रो बनेको थियो । सामान्यतया कुनै पनि चलचित्र फ्रेन्चाइजी पहिलोभन्दा पनि राम्रो हुनुपर्छ तर यसले दर्शकमा त्यो छाप छोड्न सकेन । चलचित्रमा निर्देशकको सबैभन्दा ठुलो कमजोरी भनेको बोनी आरोनलाई वाल्लाचको रूपमा प्रयोग गर्न नसक्नु हो । पहिलो चलचित्रमा यो भूमिकालाई जति महìव दिइएको थियो, त्यो यसमा खासै देखिँदैन ।