• १३ मंसिर २०८१, बिहिबार

ओझेलमा बयाल झरना

blog

कालीकोट समाचारदाता

कालीकोट, असोज ८ गते । जिल्लाको पचालझरना गाउँपालिका–७ र ८ को सिमाना पर्ने बयाल झरना ओझेलमा परेको छ। झरना हेर्न छिमेकी ठाउँबाट आउने गरेका छन्। तथापि यसको उचित प्रचारप्रसार हुन सकेको छैन। स्थानीय कृष्णबहादुर बमले झरनाका बारेमा पर्याप्त प्रचार हुन नसकेको बताउनुभयो।

बयाल झरनाको लम्बाइ १५० मिटर रहेको स्थानीय पत्रकार कटकबहादुर बमले बताउनुभयो। सोही गाउँपालिकामा रहेको अर्को पचाल झरना र बयाल झरनाको व्यापक प्रचारप्रसार र यहाँ आसपासमा होमस्टेको व्यवस्थापन गर्न सकेमा गाउँपालिकाको आन्तरिक पर्यटनमा टेवा पुग्ने बताइन्छ।

स्थानीय अविलाल सन्ज्यालले सडकको पहुँच भए पनि स्थानीय सरकारले पर्यटन क्षेत्रमा लगानी नगरेका कारण यहाँका पर्यटकीय क्षेत्र गुमनाम रहेको बताउनुभयो। 

लोभलाग्दो पाटन, घाँसे मैदान, थुम्का परेका पहाड र कलकलाउँदा झरना हेर्नका लागि पर्यटक लोभ्याउने सरकारसँग योजना नभएको गुनासो स्थानीयको छ। सोही पालिकामै रहेको ३८१ मिटर लामो पचाल झरनाको प्रचार छैन। जुन झरनाको नामले गाउँपालिका नामकरण भएको छ।