नेपालमा तालतलैया प्रशस्त छन् । प्राकृतिक र मानव निर्मित तालतलैया देशकै सुन्दर सम्पदा हुन् । यिनको संरक्षण तथा संवर्धनबाट पर्यटन प्रवर्धन गर्न सकिन्छ । पर्यटकीय राजधानी पोखरा तालैतालको सुन्दर सहर हो । त्यहाँ रहेको फेवाताल, रूपाताल, बेगनासताललगायतले पोखराको शोभा बढाएका छन् । तिनै ताल हेर्न र सयर गर्न हजारौँ पर्यटक पोखरा जान्छन् । फेवाताल देशकै दोस्रो ठुलो ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ बढी लोकप्रिय छ । फेवा गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको हो । वैदाम गाउँको छेउमा पर्ने हुँदा यसलाई वैदाम ताल पनि भनिने गरिन्छ । तालको बिच भागमा तालवाराही मन्दिर छ । डुङ्गा सयर गर्न र तालवाराही मन्दिरको दर्शनका लागि प्रसिद्ध फेवाताल समुद्री सतहदेखि ७४२ मिटर उचाइमा छ । यस तालले लगभग ५.२३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस तालको औसत गहिराइ ८.६ मिटर रहेको छ भने अधिकतम गहिराइ २४ मिटर रहेको छ । तालको उत्तर दिशामा अन्नपूर्ण हिमशृङ्खला रहेको छ, जुन २८ किलोमिटरको दुरीमा छ । यो ताल माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरि तथा अन्य पर्वतको टाकुराको प्रतिविम्बका लागि पनि प्रसिद्ध छ । अहिले बेमौसम र बढ्दो जाडोमा पनि फेवातालमा डुङ्गा सयर गर्नेहरूको कमी छैन । खुलेको मौसममा माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमालको प्रतिविम्ब आडैमा राखेर तस्बिर र भिडियो खिच्ने प्रशस्तै छन् ।
बेमौसममा पनि पर्यटन राजधानी पोखरालाई भरिभराउ बनाउने फेवाताल आफैँ भने प्राकृतिक र मानवीय दुवै अतिक्रमणबाट खुम्चिँदो अवस्थामा पुगेको छ । यी दुवै अतिक्रमणबाट जोगाउन सकिएन भने फेवाताल पुरिने र अस्तित्व नै लोप हुने खतरामा छ । हर्पन, खहरे, फिर्केलगायत खोला र वरिपरिका खोल्साबाट माटो, गेग्य्रान, फोहोरमैला ठुलो मात्रामा फेवातालमा पुग्ने गरेको छ । अहिले कतै तालको पानीबाटै संरचना बन्दै छन् भने सिमसारमा घडेरी बनाउने र जग्गा सम्याउने क्रम बढिरहेको छ । सर्वोच्च अदालतले फेवा किनारबाट ६५ मिटर मापदण्ड कायम गरी त्यहाँका संरचना हटाएर हरियाली कायम गर्न दिएको आदेशको पालना भएको छैन । हालै पोखरा–१८, खपौदीमा तालको पानीबाटै पर्खाल उठाएर क्यालिफोर्निया गार्डेन क्याफे बनाइएको छ । त्यससँगै अर्को रेस्टुरेन्ट पनि बन्दै छ । सडक र तालबिचको जग्गामा कामदारले धमाधम संरचना बनाउँदै छन् । फेवाको मापदण्डमा पर्ने सडकमै जोडेर भर्खरै रातमाटेमा कफीघर सञ्चालन गरिएको छ । योसँगै अर्को संरचना पनि बन्दै छ । अधिकारकर्मीले अवैध निर्माण संरचनाबारे वडा, महानगर, प्रशासन सबैतिर जानकारी गराउँदा पनि काम रोकिएको छैन । ताल अतिक्रमणलाई बेवास्ता गर्नु राम्रो होइन । तालको सिरानतिर गिटी, बालुवा निकाल्दै जग्गा पुर्दै गरेको अवस्था छ । सम्बद्ध सरोकारवाला निकायले अतिक्रमण भइरहेको देखेर पनि नदेखेको जस्तो गरेका छन् । रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिनु जाती हो ।
पोखरा महानगर र गण्डकी प्रदेश सरकारको अग्रसरतामा तालको उच्चविन्दु (फ्लोड लेभल) बाट ६५ मिटरमा पोल गाडिएको छ । ताल परिधिको करिब १६ किलोमिटरमा ६११ वटा भौतिक पोल गाडेर ताल क्षेत्र यकिन गरिएको छ । पोखरा महानगरपालिकाले नापी र मालपोत कार्यालयसँग लगत माग गरी मापदण्डमा पर्ने, मुआब्जा दिनुपर्ने र नपर्ने जग्गा छुट्याउने तयारी गरेको छ । जेनजी समूहको आन्दोलनका क्रममा ती कार्यालयमा क्षति भएकाले अझै प्राविधिक समितिले जग्गा छुट्याइसकेको छैन । मापदण्डविपरीतका संरचना तत्काल हटाउन ढिला गर्नु हुँदैन । पर्यटकले एक दिन पूरै रमाइलोसँग बिताउने गरी फेवा वरिपरिको क्षेत्रलाई विकास गर्नु पर्छ । तालको परिधिमा पदमार्ग बनाउन सकिन्छ । गण्डकी प्रदेश सरकारले फेवाको सिरानमा पर्ने मुङ्ग्रेबगरमा ‘सेल्फीब्रिज’ बनाउने योजना अगाडि सारेको छ । यो पुलमा सवारी चलाउन दिइने छैन । करिब १५ करोड रुपियाँको लागतमा बन्ने पुलमा पर्यटकले हिँड्दै तस्बिर खिच्दै रमाइलो गर्न पाउने छन् । फेवाको मापदण्डभित्र चार हजार पाँच सयभन्दा बढी कित्ता रहेको प्रारम्भिक तथ्याङ्क छ । सर्वोच्च अदालतले विसं २०७५ मा फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न, तालको चार किल्ला तोकेर सीमाङ्कन गर्न र अतिक्रमण गरी बनाइएका सबै अवैध संरचना भत्काउन सरकारका नाममा परमादेश जारी गरेको थियो । अतः सर्वोच्चको आदेश आत्मसात् गरी फेवाताललगायत मुलुकभरका सबै तालतलैयाको संरक्षण गर्न सके पर्यावरण सन्तुलनदेखि पर्यटन प्रवर्धन गर्न सकिने छ ।