टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस ९ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेस्थित निन्युखर्क माद्यामिक विद्यालयको आठकोठे भवन निर्माण हुने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण हुने विद्यालय भवनको मङ्गलबार भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रैडन र धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले संयुक्त रुपमा शिलन्यास गर्नुभयोे ।
भवन शिलन्यासपछि संक्षिप्त प्रतिक्रया दिँदै काउन्सिलर गीताञ्जली ब्रैडनले यो कामले दुई देशबिचको सम्बन्ध अझै बलियो र सुदृढ हुने बताउनुभयो । उहाँले नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विद्युतीकरण लगायतको क्षेत्रमा भारतीय सरकारले काम गर्दै आएको बताउनुभयो । ब्रैडनले समयमै निर्माणको काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले भारत सरकारको ९५ प्रतिशत लगानीमा विद्यालय भवन निर्माण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले दूतावासले गाउँको दलित र जनजाती बस्तीमा विद्यालयको क्षेत्रमा गरेको योगदान प्रसंसायोग्य रहेको बताउनुभयो ।
दुई तले आठकोठे भवनको कुल लागत तीन करोड आठ लाख रुपियाँ रहेको छ । बिजी मुडली जेभी मार्फत गत साउन ४ गते सम्झौता भएको भवन निर्माण आगामी वर्षको असोज ७ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । २०१६ सालमा स्थापना भएको निन्युखर्क माध्यमिक विद्यालयमा अहिले एक सय ७५ छात्रा र एक सय ६५ छात्र गरी कुल ३४० विद्यार्थी अध्ययनरत भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र सुनारले बताउनुभयो ।
पुरानो भवनको समस्या समाधान हुँदै गएकाले दूतावाससँगै बसको माग पनि गरिएको सुनारले बताउनुभयो । धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले भवनको योजना समावेश गर्ने धुर्कोट गाउँपालिका र राजदुतावासलाई आभार प्रकट गर्नुभयो । हाडहाडेमा ४० जना बढी भूतपुर्व भारतीय सेना रहेका छन् । उनीहरुको योगदानलाई कदर गर्दै विद्यालय भवन, खानेपानी, पुस्तकालय लगायतको क्षेत्रमा दूतावासबाट सहयोग हुँदै आएको भूतपूर्व भारतीय सुवेदार दिल बहादुर श्रीसले बताउनुभयो । उहाँले निन्युखर्क मावि पनि भारतीय सेनाबाट अवकास प्राप्त व्यक्तिहरुबाट पढाउँदै अगाडी बढाइएको श्रीसले बताउनुभयो ।