• १९ असार २०८१, बुधबार

बढ्न थाल्यो आयात

blog

काठमाडौँ, असोज ८ गते । गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो । 

विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ । 

विभागका अनुसार भदौसम्म नेपालले दुई खर्ब ५९ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत भदौको तुलनामा यो ५.०६ प्रतिशतले कम हो । समीक्षा अवधिमा सबैभन्दा धेरै १४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात डिजेल आयात भएको छ । त्यसपछि ११ अर्ब ३० करोड रुपियाँको पेट्रोल, सात अर्ब ३२ करोड रुपियाँको एलपी ग्यास, सात अर्ब तीन करोड रुपियाँको फलामजन्य वस्तुको आयात भएको छ । 

नेपालले यसबिचमा सबैभन्दा धेरै भारतबाट एक खर्ब ६० अर्ब ७५ करोड रुपियाँको वस्तु आयात गरेको छ । त्यस्तै चीनबाट ४६ अर्ब ५४ करोड रुपियाँको वस्तु आयात भएको विभागको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्सबाट पाँच अर्ब ६३ करोड रुपियाँको वस्तु आयात भएको छ । 

भदौसम्म नेपालको निर्यात पनि घटेको छ । विभागका अनुसार भदौसम्म नेपालले २६ अर्ब ४४ करोड रुपियाँको वस्तु निर्यात गरेको जुन गत भदौसम्मको तुलनामा ७.७९ प्रतिशतले कम हो । यसबिचमा नेपालले एक अर्ब ८९ करोड रुपियाँको गलैँचा, एक अर्ब ५० करोड रुपियाँको अलैँची, एक अर्ब २३ करोड रुपियाँको फलाम तथा स्टिल र ९९ करोड ७८ लाख रुपियाँको फेल्ट निर्यात भएको छ । 

आयात र निर्यात गरेर भदौसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड रुपियाँ नाघेको छ, जुन गत भदौको तुलनामा ५.३२ प्रतिशत हुन आउँछ । यसबिचमा नेपालको व्यापार घाटा दुई खर्ब ३३ अर्ब ३० करोड रुपियाँ पुगेको छ । गत भदौको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशत कम हो ।