• २१ वैशाख २०८१, शुक्रबार

कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव

blog

मुस्ताङको सदरमुकाम जोमसोम ।

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज ७ गते । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि असोजको तेस्रो हप्ता ‘घरपझोङ गाउँपालिका कृषि तथा पर्यटन महोत्सव २०८०’ आयोजना गर्ने भएको हो । 

असोज १८ देखि २० गतेसम्म मुस्ताङको जोमसोममा पर्यटन तथा कृषि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । हिमालपारिको जिल्लामा उत्पादित कृषिउपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, मुस्ताङको पर्यटन तथा धार्मिक कला संस्कृति, मौलिकताका साथै स्थानीय रहनसहन र पर्यटनमैत्री जिल्ला हो भन्ने सन्देशलाई पर्यटकसामु परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । 

अध्यक्ष लालचनले महोत्सव आयोजनाको तयारी भइरहेको र महोत्सव भव्य हुने बताउनुभयो । महोत्सव सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन भएको जानकारी दिनुभयो । गाउँपालिकाले आफूले छुट्टै आम्दानी गर्ने भन्दा पनि जिल्लाभित्रका व्यवसायीले एक करोडभन्दा बढीको व्यापार गर्ने अनुमान गरिएको अध्यक्ष लालचनको भनाइ छ । 

उहाँले भन्नुभयो, “आलु, स्याउ, सिमी, स्याउका अन्य उत्पादन, ब्रान्डी, साइडर, सुकुटीलगायतका परिकारबाट राम्रो व्यापार हुने अनुमान छ । पर्यटकीय सिजनको पनि सुरुआत भएको हुनाले जोमसोममा हुने महोत्सवले राम्रो प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो ।

मुस्ताङमा हुने महोत्सवको उद्घाटन असोज १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको अध्यक्ष लालचनले बताउनुभयो । 

कृषि अन्तर्गत घरपझोङ गाउँपालिकास्तरीय कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने जनाइएको छ ।

घरपझोङ गाउँपालिकाले आयोजना गर्ने महोत्सवमा खुल्ला आर्चरी (तारा खेल) प्रतियोगिताको विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी महोत्सवकै अवसरमा आयोजना हुने खुला भलिबल खेलको विजेताले नगद एक लाख रुपियाँ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । 

महोत्सवको अवसरमा कृषकबिचमा प्रतिस्पर्धा गर्नका लागि सात वटा फरक विधामा कृषि प्रदर्शनीमा पनि पहिलो दोस्रो र तेस्रो पुरस्कारको व्यवस्था गरिएको उहाँको भनाइ छ । महोत्सवकै अवसरमा मुख्यमन्त्रीबाट गाउँपालिकाको भवनको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रमुख अधिकारीले बताउनुभयो ।