• १३ असोज २०८१, आइतबार

कोशीटप्पुमा गैँडा स्थानान्तरण गरिने,भाले नहुँदा प्रजननमा समस्या

blog

कोशीटप्पुमा स्थानान्तरणको तयारीमा राखिएका पुष्पा र अञ्जली । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

भरतपुर, असोज ७ गते । चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा पोथी गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार असोज १० गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई स्थानान्तरण गर्न लागिएको हो । 

कोशीटप्पु अहिले गैँडाविहीन छ । सरकारले कोशीमा गैँडाको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थानान्तरण गराउन लागेको हो । “गैँडा स्थानान्तरणको तयारीमा छौँ,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो, “तोकिएकै मितिभित्र गैँडा स्थानान्तरण गर्ने छौँ ।” 

मानिसले हुर्काएर निकुञ्जमा छाडिएका दुई वटा टुहुरा पोथी गैँडालाई स्थानान्तरण गरिने भएको छ । चार वर्षकी पुष्पा र साढे तीन वर्षकी अञ्जली निकुञ्जको राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेर हुर्किएका गैँडा हुन् । जङ्गलमा आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई अन्दाजी दुई महिना र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरेर कोषका कर्मचारीले सानैदेखि हुर्काएका थिए । ती गैँडालाई निकुञ्जले गत वैशाख ३१ गते प्राकृतिक बासस्थानमा छाडेको थियो । 

चितवनबाट लगिने दुवै गैँडालाई कोशीटप्पुको सप्तरीनजिकै पर्ने ‘सप्तरी सेक्टर’ मा ‘इन्क्लोजर’ बनाएर राख्ने तयारी गरिएको छ । कोशीटप्पुका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार स्थानान्तरण गरिने गैँडालाई सुरुमा सानो र त्यसलाई बिस्तारै बढाउँदै लगेर प्राकृतिक रूपमा छाडिने योजना रहेको छ । “गैँडा स्थानान्तरण गरेर ल्याउनका लागि ठाउँको तयारी गरिसकेका छौँ,” उहाँले भन्नुभयो, “हाम्रा लागि गैँडा नयाँ पाहुना हो ।” 

मानिससँगको घुलमिलमा हुर्केका पुष्पा र अञ्जली अहिले पनि बारम्बार बस्तीमा निस्किरहन्छन् । उहाँले कोशीटप्पु लगिसकेपछि पनि मानव बस्तीमा ननिस्किऊन् भन्नका लागि थप सतर्कता अपनाउन लागिएको पनि बताउनुभयो । 

भालेको अभाव

प्रजनन उमेर हुँदै गरेका पुष्पा र अञ्जलीलाई मात्रै स्थानान्तरण गराउँदा त्यहाँ भाले गैँडाको अभाव हुने प्रस्ट छ । अहिलेसम्म गैँडा नै नभएको कोशीमा पोथी गैँडा मात्रै रहँदा यसको सङ्ख्या वृद्धिमा समस्या आउने देखिएको छ । 

गैँडाको जीवनचक्रमाथि नै विद्यावारिधि हासिल गर्नुभएका डा. बाबुराम लामिछानेले पुष्पा र अञ्जलीलाई जङ्गलमा छाड्ने समयसम्म भाले गैँडा पनि स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । चिडियाखानामा गैँडा राख्दा भालेपोथी नै राख्ने गरिन्छ । कोशीमा पनि भालेपोथी पठाउनैपर्ने हुन्छ । उहाँले अहिलेभन्दा पनि बिस्तारै इन्क्लोजरबाट प्राकृतिक रूपमा छाड्ने बेलासम्म पठाउन सकिने बताउनुभयो । 

पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । गैँडाले पाँचदेखि छ वर्षमा बच्चा जन्माउने गरेको छ । भाले लागेको एक वर्ष चार महिनादेखि एक वर्ष छ महिनाभित्र बच्चा जन्माउने गर्दछ । 

चार वर्ष पुगेकी पुष्पाले अहिले पनि भाले गैँडाको सम्पर्क खोजिरहेको पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पुष्पा अहिले पनि नियमित भालेसँगैको सम्पर्कमा रहेको बताउनुभयो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग योजना महाशाखाका प्रमुख हरिभद्र आचार्यले पोथी स्थानान्तरण गरिएपछि बिस्तारै भाले पनि स्थानान्तरण गराउने योजना रहेको बताउनुभयो । “पोथीका लागि भाले चाहिने बाइलोजिकल निड्स हो,” उहाँले भन्नुभयो, “पहिलो चरणमा पोथी स्थानान्तरण गरिएपछि बिस्तारै भाले पनि स्थानान्तरण गर्छौं ।”

सुरक्षा चुनौती

कोशीटप्पु वन्यजन्तु आरक्षमा चितवनको तुलनामा गैँडाका लागि सुरक्षा चुनौती छ । भूगोल र हावापानीका दृष्टिकोणले चितवनका गैँडाका लागि कोशीटप्पु अनुकूल भए पनि सुरक्षाका दृष्टिले चुनौती रहेको अध्ययनले देखाएको छ । 

कोशीमा गैँडाका लागि बासस्थानको अवस्था अध्ययनकर्ता डा. बाबुराम लामिछानेले चितवनको तुलनामा कोशीमा गैँडाका लागि सुरक्षा चुनौती रहेको बताउनुभयो । “कोशीटप्पुमा मानवीय गतिविधि बढी छ । सुरक्षाका दृष्टिकोणले पनि सुरक्षाकर्मीको परिचालन कमी छ,” उहाँले भन्नुभयो, “हरेक वर्ष कोशीमा आउने बाढीले पनि यहाँका जनावर असुरक्षित हुने गरेका छन् ।”कोशीटप्पुका प्रमुख संरक्षण अधिकृत यादवले सप्तरी क्षेत्रमा सुरक्षा र बाढीको चुनौती कमी भएको बताउनुभयो । 

अरू गैँडा स्थानान्तरित

गैँडाको मुख्य बासस्थान चितवन राष्ट्रिय निकुञ्जबाट नेपालका विभिन्न निकुञ्ज तथा वन्यजन्तु आरक्षमा अहिलेसम्म एक सय गैँडा स्थानान्तरण गरिसकिएको छ । निकुञ्जले पहिलो पटक २०४२ साल माघमा १३ वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरेको थियो । सो निकुञ्जमा अहिलेसम्म चितवनबाट ९१ वटा गैँडा स्थानान्तरण गरिसकिएको छ ।