• १५ असार २०८१, शनिबार

काभ्रे सेवा समाजद्वारा शान्ति पदयात्रा आयोजना

blog

गोरखापत्र अनलाइन 

पनौती, असोज ६ गते । काभ्रे सेवा समाजले विश्व शान्ति दिवसको अवसर पारेर शनिबार पानौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा आयोजना गरेको छ । 

सो पदयात्रामा काभ्रे जिल्लाबाट काठमाडौं आएर बसोबास गरेका तथा पनौती बनेपा तथा भक्तपुरबाट ठूलो संख्यामा स्थानीय बासिन्दाको सहभागिता थियो । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउने र शान्तिको भावना जागृत गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरुको प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ  

यसले पनौती र नमोवुद्ध पहिचान र परिचयलाई अझ उच्च बनाउनुका साथै शान्तिका प्रतीक गौतमबुद्धले पाइला टेकेको स्थानमा भएको पदयात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा समेत महत्वपूर्ण रहेको बताइएको छ । 

हिन्दु धर्मालम्बीहरुको पवित्रस्थान पनौतीमा बौद्ध दरबार र त्रिवेणीघाटदेखि बौद्ध धर्मालम्बीहरुको पवित्रस्थल नमोबुद्धसम्मको सो पदयात्राले धार्मिक सहिष्णुता कायम गर्नका लागि महत्वपूर्ण योगदान दिने मानिन्छ । 

पदयात्रा कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले यस किसिमको शान्ति पदयात्राले यस क्षेत्रमा मात्र नभएर विश्व शान्तिको सन्देश प्रवाह गर्ने बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, पूर्वमन्त्री गोकुल बाँस्कोटा, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी नेका केन्द्रीय समिति सदस्य तथा पूर्व सांसद शिवप्रसाद हुमागाई तथा काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीलगायतका वक्ताले पदयात्राको सफलताको शुभकामना दिनुभएको थियो ।