जानु पाण्डे
कपिलवस्तु, असोज ६ गते । साहसिक खेल साइकल प्लाङ्क ब्यालेन्सको दोस्रो संस्करण हुनेभएको छ । लायन्स क्लब अफ कपिलवस्तुले असोज २७ गतेदेखि दोस्रो पटक खेलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष ओमप्रकाश घिमिरेले बताउनुभयो ।
बाणगंगा नगरपालिकाको पर्यटकीयस्थल राजापानीमा सञ्चालन हुने खेलमा विजेता ५० हजार रुपियाँ पाउने बताइएको छ । साहसिकसँगै मनोरञ्जन हुने हुँदा देशभरका साइकल राइडरलाई सहभागिता गराउने लक्ष्य रहेको खेल संयोजक विष्णु घिमिरेले बताउनुभयो ।
खेल खेलाउने मात्र उद्देश्य मात्र नभइ राजापानी पर्यापर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने रहेको बताइएको छ । पानीमाथि ट्रयाक निर्माणगरी साइकल चलाएर निश्चित दूरी पारगरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो । नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल हिँडाइ पार गर्नेले उपाधी जित्ने बताइएको छ ।
खेलाडीका लागि साइकल, लाइफ ज्याकेट र हेलमेटको व्यवस्थापन आयोजकले गर्ने बताइएको छ । देशभरका ३ सय ५० साइकल राइडरको सहभागिता हुने आयोजकले जनाएको छ । एक दिन सञ्चालन हुने प्रतियोगितामा १३ लाख रकम खर्च हुने अनुमान गरिएको छ । प्रथम हुनेले ५० हजार दोस्रोले २५ हजार तेस्रोले १५ हजार पुरस्कार पाउने छन् ।