लीलाधर वली
घोराही, असोज ६ गते । दाङमा खुकुरी प्रहार हुँदा महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुराका स्थानीय टेकबहादुर मल्लले आफुलाई देउता चढेको भन्दै खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारले ४३ बर्षीय रिता लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार रितालाई खुकुरी प्रहार गरी हत्या गरेका टेकबहादुरले सोही गाउँकै बीरबहादुर हमाल र उहाँकी आमा चन्द्रकुमारी हमाललाई पनि खुकुरी प्रहार गरेर घाइते बनाउनुभएको छ ।
खुकुरी प्रहारबाट घाइते दुवै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो, ‘टेकबहादुर घरबाट खुकुरी लिएर निस्केको र बाटोमा जसलाई भेट्यो उसैलाई खुकुरी प्रहार गर्दै हिड्नेक्रममा घरमा बसिरहनुभएकी ४३ बर्षीय रितालाई खुकुरीले प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते रिताको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रितालाई खुकुरी हानेका टेकबहादुरले त्यसपछि अर्को घरमा बसिरहेका आमाछोरा बीरबहादुर र चन्द्रकुमारी हमाललाई खुकुरी हानेर घाइते बनाएका थिए ।
खुकुरीसहित पक्राउ परेका टेकबहादुरले प्रहरीलाई आफ्नो कुनै रिसिइबी नभएको र आफुलाई देउता चढेका कारण खुकुरी हानेको प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पोख्रेलले भन्नुभयो, ‘पक्राउ परेका अभियुक्तले मेरो कुनै पनि रिसिइबी छैन, मलाई देउता चढ्यो, अनि खुकुरी लिएर घरबाट निस्केको, त्यसक्रममा कस्लाई हाने थाहा पाउँदैन ।’ घट्नाबारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।