• २३ पुस २०८१, मङ्गलबार

चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडा–च्याङ्ग्राका गोठ

blog

बेंसी झरेका चोरीगाईका गोठ । तस्बिरः यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, असोज ६ गते । हिमालपारिको जिल्ला मनाङका लेकमा रहेका भेडाच्याङ्ग्रा तथा चौंरीगोठ बिस्तारै बेँसी झर्न थालेका छन् । वातावरण प्रतिकूल बन्दै अत्यधिक चिसो बढ्न थालेपछि भेडा–च्याङ्ग्रा तथा चौँरी गोठालाले बेँसीतर्फ गोठ सार्न सुरु गरेका हुन् । 

मनाङ ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडा–च्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले ३ हजार ६ सय मिटर अग्लो स्थानमा चिसो बढ्न थाल्नु तथा बेमौसममा पनि हिउँ पर्न थालेपछि तलतिर खर्क सारिएको बताउनुभयो । 

मनाङ ङिस्याङ–८ जुलुमा ८ घरको एउटा गोठ, १६ घरको अर्को गोठ, अरू ३ घरको एउटा गोठ र दलित समूह २० घरको एउटा गोठगरी सामूहिक रूपमा भेडा–च्याङ्ग्रा पालन गरेको बताउनुभयो । उहाँले चिसो बढ्दै जाँदा घाँसको पनि अभाव हुने भएकाले ३ हजार ६ सय मिटर माथि रहेका गोठहरू बेँसीतर्फ सार्न सुरु गरेको बताउनुभयो । 

व्यावसायिक रूपमा किसानलाई पशुपालन गर्दा सरकारबाट कुनै पनि सहयोग नपाएको उहाँको गुनासो छ । कृषि ज्ञान केन्द्र मनाङले खासै चासो नदेखाएकाले उहाँले आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘गतवर्ष रोगले गर्दा २२ चौँरी र ५५ च्याङ्ग्रा मरे तर कतैबाट पनि सहयोग पाइएन ।’ 


विगतका वर्षमा हिमपहिरोमा परी २ सय ५० भन्दा बढी भेडा–च्याङ्ग्रा तथा चौँरी मरेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले त झन् हिउँ चितुवाको बिगबिगी छ, बिस्तारै बेँसीतिर लाग्दा पाटे चितुवाको पनि डर हुन्छ ।’

मनाङ ङिस्याङको हुम्डेपारिको लेकमा भेडा–च्याङ्ग्रा पाल्दैआएका तथ्य गुरुङले दसैँका लागि च्याङ्ग्रा बिक्री गर्नुपर्ने भएकाले बिस्तारै बेँसीतिर झर्न थालेको बताउनुभयो । 

उहाँले ४५ वटा च्याङ्ग्रा यही दसैँमा बिक्री गर्ने बताउनुभयो । गत असार महिनादेखि उहाँले भेडा–च्याङ्ग्रा अग्ला लेकमा रहेकोमा अहिले सबै खाली हुँदैआएको र अब बिस्तारै तल झार्दै लगेर कात्तिक महिनासम्म घरमा लगिने बताउनुभयो । उहाँले अब हरेक दुई हप्तामा होचा स्थानमा भेडाच्याङ्ग्रा गोठ सारिने बताउनुभयो । 

युवा पशुपालक कृषक सगर गुरुङले सिद्धार्थ बैङ्कले पशुचौपायाको इन्स्योरेन्स गरेको भए पनि मनाङमा एक जना मात्रै कर्मचारी राख्दा सेवा दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पशुचौपायाको इन्स्योरेन्स गर्दा १० हजार जति राहत आउने रहेछ, हामीलाई यो कुरा अहिले थाहा भयो ।’