• १२ साउन २०८१, शनिबार

बसाइँसराइ रोक्न दीर्घकालीन योजना बनाउँछौँ

blog

भारतसँग सीमा जोडिएको माडी नगरपालिका चितवन जिल्लाको उर्वर भूमि हो । दक्षिण र पूर्वमा चुरे पर्वत, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्जले घेरिएकाले यसलाई माडी उपत्यका भनेर चिनिन्छ । कृषि, पर्यटन र धार्मिक क्षेत्र भएकाले माडीको पहिचान अझ व्यापक बनाउनुपर्नेमा यस क्षेत्रका जनप्रतिनिधिको चासो रहेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएर जिम्मेवारी पूरा गरेकी ताराकुमारी काजी महतो नै २०७९ को निर्वाचनमा नगर प्रमुखमा विजयी हुनुभएको छ । गोरखापत्रका लागि शालिग्राम नेपालले माडी नगरपलिकाका प्रमुख ताराकुमारी काजी महतोसँग गर्नुभएको कुराकानीको सारसङ्क्षेप : 

तपाईंले एक कार्यकाल नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । अहिले नगर प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । काम गर्नका लागि कत्तिको चुनौती छ ? 

संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्ने हो । पाँच वर्षको अवधि उपप्रमुख भएर काम गरिसकेकाले यहाँको आवश्यकता, सम्भावना र चुनौती बुझेको छु । हरेक काममा चुनौती नै हुन्छन् । चुनौतीलाई अवसरको रूपमा बदल्ने प्रयास गरिरहेको छु । 


माडी नगरपालिकाको मुख्य आवश्यकता के हो त ? जनताले कस्तो विकास चाहेका छन् ? 

हाम्रो नगरपालिकाको पहिलो आवश्यकता पूर्वाधार नै हो । ग्रामीण क्षेत्र भएकाले पूर्वाधारको कमी छ । हामीले सडक, खानेपानी, पुललगायतका पूर्वाधारलाई पहिलो प्राथमिकताका रूपमा राखेका छौँ । त्यही अनुरूप काम गर्दै छौँ  । मूल सडक ग्राबेल थियो, अहिले कालोपत्रे गरेका छौँ । ग्रामीण क्षेत्रका सडकलाई पनि कालोपत्रे गर्दै लैजाने योजनामा रहेको छ । जनताको आर्थिक अवस्था सुधारका लागि आयआर्जनका बाटो सिर्जना गर्ने, स्वरोजगारतर्फ लगाउने र आम्दानीका स्रोत वृद्धि गराउनेतर्फ हामीले योजना बनाएका छौँ । शिक्षा, कृषि र स्वास्थ्यमा सुधारका योजनालाई अगाडि सारेका छौँ । 


स्वास्थ्य क्षेत्रमा के कस्ता सुधार भए ?

नगरपालिकाको एक मात्र अस्पताल बगौडा अस्पताललाई सुधार गरेका छौँ । महिलालाई निःशुल्क टिकटको व्यवस्था छ । सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएका छौँ । चिकित्सक बस्न नमान्ने अवस्था थियो, अहिले यो समस्या हटेको छ । चिकित्सकको सेवा पु-याएका छौँ । स्वास्थ्य बिमा लागु गरिएको छ । अब सामान्य बिरामी हुँदा भरतपुरसम्म जानुपर्ने बाध्यता हटेको छ । 

जनताले महसुस गर्ने गरी के विकास गर्नुभएको छ ? 

यो नगरपालिकामा उर्वर कृषि भूमि रहेकाले कृषिलाई प्राथमिकता दिएका छौँ  । खेतीका लागि सिँचाइको व्यवस्था मिलाएका छौँ । साना तथा मझौला उद्योग विकास गर्न सहयोग गरेका छौँ । हामी रोजगारीका अवसर सिर्जना गर्ने प्रयासमा रहेका छौँ । कक्षा १२ सम्म यही अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था मिलाएका छौँ । व्यवस्थापन, विज्ञान, मानविकी, शिक्षा विषय यही अध्ययन गर्न पाउने व्यवस्था छ । माडी क्यम्पसमा उच्च शिक्षा अध्ययनको पनि व्यवस्था रहेको छ । 


माडी नगरपालिका चितवन जिल्लामा पर्ने भए पनि माडीवासीले यो अनुभूति नगरेको भनाइ छ नि । 

हामीले पनि यो कुरालाई महसुस गरेका छौँ । भौगोलिक हिसाबले धेरै टाढा होइन । तर, बिचमा निकुञ्ज भएका कारण माडी नगरवासीलाई सरकारले चितवनको हो भनेर महसुस गराउन सकेको छैन । हामीले पनि त्यही महसुस गरेका हौँ । भरतपुर र सौराहाले निकुञ्जबाट फाइदा लिन सकेका छन् भने हामीले सकेका छैनौँ । निकुञ्ज अवलोकन गर्न आएका पर्यटक सौराहाको प्रवेश मार्ग जाने, भरतपुर आएकाहरू, मेघौली, जनगपुर, पटिहानी जाने गर्छन् । माडीबाट पनि निकुञ्ज प्रवेश गर्न सकिन्छ भन्ने प्रचारप्रसार गर्न नसक्दा हामी पछाडि परेका छौँ । 


नगरपालिकाको जनसङ्ख्या वृद्धि हुँदै जाने मुलुकभरको प्रवृत्ति छ तर माडीमा जनसङ्ख्या घट्दो छ । माडीबाट बसाइँ सरेर जाने अवस्था रोक्ने योजना के छ ? 

बसाइँ सरेर जाने व्रmमलाई रोक्न हामीलाई चुनौती छ । आफ्नो जीवन सहज बनाउन जनतालाई जहाँ पनि जान स्वतन्त्रता छ । हामीले शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था पर्याप्त मात्रामा सिर्जना गर्न सक्यौँ भने बसाइँ सरेर जाने अवस्था रोक्न सकिन्छ । माडीबाट रातिको समयमा भरतपुर जान पाइँदैन । निकुञ्जका कारण यात्रा गर्न सहज छैन । निकुञ्जका जनावरका कारण कृषि र मानवीय क्षति हुने भएकाले बसाइँ सरी जाने अवस्था छ । बसाइँसराइ रोक्न हामीले दीर्घकालीन योजना बनाउँछौँ । हामी तयारी गरिरहेका छौँ । 


नगरपालिका भएर पनि माडीको आन्तरिक आम्दानी कम छ । यसलाई कसरी वृद्धि गर्ने योजना बनाउनुभएको छ ? 

व्यापारिक क्षेत्र हामीमा ज्यादै कम छ । ग्रामीण बजार र त्यहाँ हुने व्यवसाय, अन्य स्रोतको पहिचान गरी राजस्व उठाउँदै आएका छौँ  । यसले हाम्रो विकासमा धेरै टेवा दिँदैन । त्यसैले यस क्षेत्रको ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, पाँचपाण्डव, त्रिवेणीधाम, अयोध्यापुरी, राम जन्मभूमिको प्रचार, निकुञ्ज प्रवेश गराएर त्यसबाट शुल्क लिने, कृषि खेती हेर्न आउनेलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी त्यसबाट आम्दानी वृद्धि गर्ने योजना रहेको छ । हामीले ती क्षेत्रको विकासमा लगानी गर्दै आएका छौँ । 


पाँचवर्षे कार्यकालको झन्डै डेढ वर्ष बितेको छ । बाँकी अवधिमा के कस्ता काम गर्ने सोचमा हुनुहुन्छ ?     

माडीको विकास र सुरक्षाका लागि रिउ करिडोर नै प्रमुख आवश्यकता हो । रिउ खोलाको कटान, निकुञ्जबाट आउने वन्यजन्तुबाट हुने क्षति कम गर्न कोरिडोर निर्माण आवश्यक छ । यो निर्माणका लागि नगरपालिकाको बजेटले मात्रै सम्भव हुँदैन । त्यसैले सङ्घीय सरकारको लगानीमा कोरिडोर निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग हो । यस विषयमा मैले प्रधानमन्त्रीलाई भेटेर जानकारी गराएको छु । हामी निरन्तर प्रयास गरेर रिउखोला कोरिडोर निर्माणको योजना ल्याउने छौँ । यसले गर्दा खोलाबाट बस्ती जोगिनुका साथै वन्यजन्तु बस्ती प्रवेश गर्नसमेत सक्दैन । रिउ कोरिडोर निर्माण भएपछि पर्यटकको सङ्ख्या वृद्धि हुन्छ । यही कोरिडोरले माडीको विकासमा कायापलट हुने छ ।