• १ असार २०८२, आइतबार

बागमती प्रदेशको आर्थिक वृद्धि ५.१८ प्रतिशत रहने

blog

आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले बागमती प्रदेश सभामा चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै। तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ ३१ गते। चालु आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धि ५.१८ प्रतिशत रहने भएको छ। बागमती प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकासको स्थिति समेटिएको आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्नुभएको हो। उहाँले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको आठ महिना र बागमती प्रदेशको गत आवको समग्र विकासको अवस्था प्रस्तुत गर्नुभएको हो। 

बागमतीको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) २२ खर्ब ३० अर्ब २३ करोड रहने अनुमान छ । मुलुकको जिडिपीमा बागमतीको ३६.५२ प्रतिशत योगदान रहेको अनुमान छ । बागमतीको प्रतिव्यक्ति आय दुई हजार ६ सय २० डलर रहेको अनुमान छ। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । 

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत, उद्योग क्षेत्रको योगदान ११.१३ प्रतिशत र सेवा क्षेत्रको योगदान ७७.०७ प्रतिशत रहने अनुमान गरिएको छ। चालु आवको फागुनसम्म प्रदेश सरकारको कुल खर्च ६१ अर्ब ५३ करोड ४४ लाख अर्थात् वार्षिक विनियोजनको २५.६२ प्रतिशत भएकोमा चालु तर्फ ३५.२२ प्रतिशत र पुँजीगत तर्फ १९.९४ प्रतिशत खर्च भएको छ।

चालु आवको फागुन सम्म बागमती प्रदेश सरकारको कुल आय आन्तरिक राजस्व बाडफाडबाट प्राप्त राजस्व र नगद मौजाद ४४ अर्ब ५६ करोड ५३ लाख अर्थात् वार्षिक अनुमानको ६९.०५ प्रतिशत रहेको छ। बागमती प्रदेशको सबै स्थानीय तहमा बैँकको शाखा पुगेको छ। वित्तीय पहुँचमा अभिवृद्धि भएको छ। बैँक तथा वित्तीय शाखाबाट औसत दुई हजार १२ जनसङ्ख्यामा बैँकिङ सेवा उपलब्ध भएको छ। प्रदेशको वित्तीय साक्षरता ६४.५ प्रतिशत रहेको छ।  

सङ्घीयता कार्यान्वयन भएसँगै प्रदेश सरकारले नयाँ सडक निर्माण र स्तरोन्नति कार्यले गति लिएका छ। चालु आवको फागुन सम्ममा प्रदेश सरकारको थप ३८.२ किलोमिटर नयाँ सडक, ७५.९५ किलोमिटर खण्ड स्मृत सडक र १०२.१८ पक्की सडक निर्माण र स्तरोन्नति गरेको मन्त्री काफ्लले जानकारी दिनुभयो। नियमित र आवधिक सडक मर्मत कार्यभइरहेको छ। 

वैकल्पिक ऊर्जा सहित ९९.९७ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँच पुगेको छ। यस अवधिसम्म बागमती प्रदेशको जम्मा घरधुरीको ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ। प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ। शैक्षिक सत्र २०८१ मा आधारभूत तह कक्षा एकदेखि आठको खुद भर्ना दर ९४.४ प्रतिशत र माध्यमिक तहमा कक्षा ९ देखि १२ मा खुद भर्ना दर ५५ प्रतिशत पुगेको छ। बागमती प्रदेशको मातृ मृत्युदर ९८ जना प्रतिलाख जीवित जन्ममा रहेको छ। प्रदेशको युवा उद्यमशीलता तथा सिप विकास कार्यक्रम मार्फत युवा स्वरोजगार हुँदै गएको मन्त्री काफ्लेको भनाइ छ।