बाबुराम शर्मा
दोलखा, असोज ६ गते । सामुदायिक विद्यालयका शिक्षक काठमाडौँ केन्द्रित विरोधमा उत्रिएका कारण मुलुकभरका सामुदायिक विद्यालय बन्द छन् । तर, दोलखाको शैलुङ गाउँपालिका–५ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा भने पठनपाठन निरन्तर चलिरहेको छ ।
यस विद्यालयमा पठनपाठन सुचारु भएको वडाध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । कक्षा १–१२ सञ्चालन भइरहेको यस विद्यालयका २०५ विद्यार्थीमध्ये शुव्रmबार ७२ जना विद्यार्थी उपस्थित भए । अन्योलकै बिच बिहीबार विद्यालयमा २६ जना विद्यार्थीको उपस्थिति थियो ।
विद्यालय खुले र पठनपाठन भए पनि शिक्षकको उपस्थिति भने भएन । वडाध्यक्ष तामाङकै पहलमा विद्यालय सुचारु ग्रिएको हो । पाठ्यपुस्तककै पढाइ नभए पनि गाउँपालिकाकाका स्वास्थ्य, कृषिलगायतका कर्मचारी र अभिभावकले विद्यार्थीलाई समसामयिक रोग, पोषण, कलालगायतका विषयमा जानकारी गराउनुभएको हो ।
वडाध्यक्ष तामाङले भन्नुभयो, “सरकारले शिक्षकको विरोधको गाँठो चाँडै फुकाएर पठनपाठन सुचारु गर्न पहल गर्नुपर्ने देािखएको छ ।” विद्यालय बन्दको अवधि लम्बिए विकल्प तयार गरेर विद्यालय भने सुचारु गर्ने उहाँले जानकारी दिनुभयो ।
दोलखा जिल्लामा ३३७ वटा सामुदायिक विद्यालयमा एक हजार ९०७ शिक्षक छन् । उहाँहरू अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा हुनुहुन्छ । यी विद्यालयमा पठनपाठन नहुँदा दोलखाका २९ हजार ८०२ विद्यार्थी प्रभावित भएका छन् ।
शिक्षक महासङ्घ राष्ट्रिय समितिले संसद्मा दर्ता गराएको शिक्षा विधेयकलाई लिएर देशभरका शिक्षकलाई आन्दोलनमा उत्रन आह्वान गरेपछि बुधबारदेखि नै शिक्षकहरू काठमाडौँ गएपछि बिहीबारदेखि नै पठनपाठन बन्द भएको हो । दोलखा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले भन्नुभयो, “बुधबार सार्वजनिक बिदा रहेकाले पठनपाठन बन्द नै थियो । बिहीबार विद्यालय खोल्नुपर्नेमा शिक्षक उपस्थित नहुँदा पूर्ण रूपमा पठनपाठन बन्द हुन पुगेको हो ।”