• २१ वैशाख २०८१, शुक्रबार

क्यानको नेतृत्व चयन आज

blog

काठमाडौँ, असोज ६ गते । कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल क्रिकेट टिमको पहिलो ब्याचका खेलाडीलाई शुक्रबार नेपाल क्रिकेट सङ्घको केन्द्रीय साधारण सभा तथा अधिवेशनका क्रममा सम्मान गर्नुभएको छ । 

सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपालले पहिलो पटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको थियो । क्यानले सोही टिमका सबै खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । उत्तमकुमार कर्माचार्य (तत्कालीन कप्तान), वसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री (एलबी), मनिषराज पाण्डे, सञ्जय गुरुङ, किरणशमशेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, विशाल गुप्ता, रितेश बराल, पुकार पन्त र मुसरफ इजाहर सम्मानित हुनुभयो ।

उपप्रधान तथा रक्षामन्त्री खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को साधारण सभा उद्घाटन गर्ने क्रममा पुराना क्रिकेटरलाई सम्मान गर्नुभएको हो । सो अवसरमा उहाँले नपाली क्रिकेटले देशको मुहार हेर्न सकिन्छ भन्नुभयो । “क्रिकेटले राष्ट्रियता र राष्ट्रप्रेम उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जगजाहेर छ,” उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो, “क्रिकेटको आधिकारिक र नियामक निकायका रूपमा नेपाल क्रिकेट सङ्घले आगामी दिनमा क्रिकेटको विकास, विस्तार र सबलीकरणका लागि थप प्रभावकारी भूमिका खेल्ने विश्वास छ ।” नेपाल सरकारले पनि त्रिवि क्रिकेट मैदान, मूलपानीमा निर्माणाधीन क्रिकेट रङ्गशालालगायत पोखरा, भैरहवास्थित खेल मैदानलाई अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार स्तरवृद्धि गर्न र खेल मैदानहरूको नियमित मर्मतसम्भारका लागि आवश्यक सामग्रीको व्यवस्थाका लागि पनि प्राथमिकताका साथ अग्रसरता लिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसै गरी क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो कार्यसमितिले क्षमताले भ्याएसम्म राम्रो काम गरेको भनाइ राख्नुभयो । उहाँले आफ्नो कार्यकालमा नेपालले पहिलो पटक एसिया कप खेल्न सफल भएको स्मरण पनि गराउनुभयो ।

यसबिच नयाँ नेतृत्वका लागि भागदौड सुरु भएको छ । क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशनको शुक्रबार उद्घाटन भएलगत्तै सो भागदौड सुरु भएको हो । बर्दिया जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनयराज भण्डारी चन्दको विपक्षमा क्यानको अध्यक्षमा उठ्ने हुनुभएको छ । 

लुम्बिनी क्रिकेट सङ्घको उपाध्यक्षसमेत रहेका भण्डारी पहिलो पटक केन्द्रीय निर्वाचन उठ्न लाग्नुभएको छ । उहाँ नेपाल, नामिबिया र स्कटल्यान्ड सिरिजमा नेपाल टिमको म्यानेजरका रूपमा कार्यरत हुनुहुन्थ्यो । यसअघि नै क्यानका वर्तमान अध्यक्ष चन्दले अध्यक्षमा उठ्ने घोषणा गरिसक्नुभएको छ । 

यसै गरी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का पनि सचिव पदमा उठ्ने कुरा भइरहेको छ । निर्वाचन शनिबार हुने छ । क्यानको निर्वाचनमा ८६ जनाले मतदान गर्दै छन् । जित्नका लागि न्यूनतम ४४ मत आवश्यक पर्छ ।