• १३ मंसिर २०८१, बिहिबार

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

blog

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ५ गते । नेपालगन्ज उपमाहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी सुरु गरिएको जनाएको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले एक वर्षसम्म फोहोर व्यवस्थापनबारे स्थानीय बासिन्दालाई निकै सचेत पारिएको र सम्झाइबुझा   गरिएको बताउनुभयो ।

अब पनि जथाभावी फोहोर गरिएको पाइएमा जरिवाना गरिने उहाँको भनाइ छ । उहाँले जथाभावी फोहोर नफाल्न सर्वसाधारणलाई अनुरोध गर्दै अबदेखि त्यस्तो गरिएको पाइएमा कारवाहीस्वरुप जरिवाना गरिने बताउनुभयो । 

मेयर विष्टले थप्नुभयो, ‘निर्वाचित भएर आएको एक वर्षसम्म विभिन्न सचेतनाका कार्यक्रम गरेर फोहोर व्यवस्थापनबारे जनतालाई जानकारी गराएका छौं, अब पनि कसैले अटेरी गर्छ र जहाँ पायो त्यही फोहोर फाल्छ भने अब जरिवाना तिर्नुपर्छ ।’

नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नेपालगन्ज नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभावी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले अब त्यस्तो नगर्न सबैलाई आग्रह गरेको छ ।  

नेपालगन्जलाई फोहोरमुक्त र सफा सहर बनाउने अभियान सुरु गरिएको जनाउँदै सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले यो अभियानमा उपमहानगरभित्रका सबै जनाको सहयोग अपरिहार्य भएको बताउनुभयो । 

उहाँले टोल टोलमा सरसफाइ समिति बनाएर फोहोर व्यवस्थापनबारे निगरानी गर्न पनि सबैलाई अनुरोध गरिएको बताउनुभयो । नगरका विभिन्न ठाउँमा अझै पनि स्थानीयले जथाभावि फोहोर फाल्ने गरेकाले सरसफाइ कार्यक्रम सफल हुन नसकेकाले कडाइ गर्ने निर्णयमा पुगिएको उपमहानगरले जनाएको छ । 

नेपालगन्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने काम अब सकिएको जनाउँदै वडावासीको घर–घरमा पुगेर अब फोहोर जथाभावी फालेमा कारवाही हुने जानकारी गराउनुभयो ।  

नेपालगन्जमा ३५ हजार ५१७ परिवारमा १ लाख ६६ हजार २५८ को बसोबास छ । प्रतिदिन कम्तिमा ३८ मेट्रिक टन फोहोर उत्पादन हुनेगरेकोमा २५ टन मात्र प्रशोधन केन्द्रसम्म पुग्नेगरेको छ ।